विश्वकै अग्लो चिनाब पुलको जम्मु–कश्मीरमा उद्घाटन, एफिल टावरभन्दा पनि ३५ मिटर अग्लो (फोटो फिचरसहित)

हाम्रो पेज

२४ जेष्ठ २०८२, शनिबार १४:२६
एजेन्सी, २४ जेठ I भारतले जम्मु–कश्मीरको रियासी जिल्लामा विश्वकै सबैभन्दा अग्लो रेल्वे पुल ‘चिनाब ब्रिज’ निर्माण गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले जुन ६ मा यो ऐतिहासिक पुल राष्ट्रलाई समर्पित गर्नुभएको छ। यो पुल उद्यमपुर–श्रीनगर–बारामुल्ला रेल लिंक परियोजनाको एक महत्वपूर्ण हिस्सा हो, जसले कश्मीर घाटीलाई भारतको बाँकी भागसँग जोड्ने ऐतिहासिक कदम मानिएको छ।

चिनाब नदीमाथि निर्मित यो पुल तीनसय ५९ मिटर अग्लो छ, जुन पेरिसको एफिल टावरभन्दा पनि ३५ मिटर अग्लो हो। एकहजार चारसय करोड भारतीय रुपैयाँको लागतमा बनेको यो पुल १ दशमलव ३ किलोमिटर लामो छ । यसलाई दुईसय ६० किलोमिटर प्रतिघण्टाको हावाको वेग, भूकम्प र कठोर मौसम सहन सक्ने गरी डिजाइन गरिएको छ र यसको आयु एकसय २० वर्ष रहने अनुमान छ । रणनीतिक रूपमा यो पुलले कश्मीर घाटीलाई वर्षभरि भारतका अन्य भागसँग जोड्ने पहिलो रेल लिंक प्रदान गर्नेछ, जसले हिउँदमा राजमार्ग अवरुद्ध हुने समस्याको स्थायी समाधान गर्नेछ।

पुल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री मोदीले यसलाई स्टील र रेलगाडीको कुरा मात्र नभई, “भारतको कश्मीरप्रतिको विकासको प्रतिबद्धताको प्रतीक“ भएको बताउनु भयो । उहाँका अनुसार, यो पुल जम्मु–कश्मीरको समृद्धिको माध्यम बन्नेछ, जसले पर्यटन र अर्थतन्त्रका अन्य क्षेत्रलाई गति दिनेछ। यो उद्घाटन केवल एक पूर्वाधार परियोजना मात्र नभएर एक शक्तिशाली राजनीतिक सन्देश पनि हो। उद्घाटनपछि प्रधानमन्त्री मोदी हातमा देशको झण्डासहित पुलमा हिँडेको दृश्यले सबैको ध्यान तानेको छ।

बीजेपीले मोदीको यो शैलीलाई ३३ वर्षअघि श्रीनगरको लाल चोकमा नेता मुरली मनोहर जोशीसँग झण्डा फहराएको तस्बिरसँग तुलना गरेको छ। ३३ वर्षपछि कश्मीरमा मोदीले जसरी झण्डा फहराउनु भएको छ, त्यसलाई ‘बदलिँदो कश्मीर’ र भारतको ठूला संकल्प पूरा गर्ने क्षमताको प्रतीकका रूपमा हेरिएको छ। पहलगाम आतंकवादी हमलाको डेढ महिनापछि भएको यो उद्घाटनले आतंकवादसामु नझुक्ने भारतको अडानलाई पनि स्पष्ट रूपमा दर्शाएको मोदीले सन्देश दिनु भएको छ ।