हाम्रो पेज

आज यी नदी तथा खोलामा छ बाढीको जोखिम

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज कोसी प्रदेशका केही नदीमा बाढीको जोखिम देखिएको छ। महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव भने हाल सतर्कता तहभन्दा तलै छ। आज कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा बाढीको खतरा छैन। यस्तै, यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान्य अवस्थामै रहेको महाशाखाले जनाएको छ। ठूला नदीमा ठूलो बाढीखो खतरा नभए पनि झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, सङ्खुवासभा लगायत पूर्वका केही जिल्लाका साना नदीहरूमा भने आज बाढीको जोखिम देखिन्छ। त्यसैगरी आज सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ र म्याग्दी भई बहने खोलाहरूमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम छ। महाशाखाका अनुसार यी ३९ जिल्ला र आसपासका क्षेत्रमा बहने साना नदीहरूमा भने आज पनि जलस्तर एक्कासि बढ्न सक्ने छ। महाशाखाले बाढीबाट हुनसक्ने जनधनको नोक्सानीप्रति सचेत रहन पनि आग्रह गरेको छ। सडकमा खसेको लेदोसहितको पहिरो हटाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गएराति सडक माथिबाट खसेको लेदोसहितको पहिरो हटाएपछि यो सडकमा सोमबार बिहान ८ बजेदेखि दुईतर्फी नै यातायात सुचारु भएको हो। वर्षासँगै बीपी राजमार्गअन्तर्गत पर्ने काभ्रेको रोशी गाउँपालिका–९ को पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेको थियो। सो पहिरो र लेदोले बीपी राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।