search logo
NOTIFICATIONS

विराटनगरकी डा. रोजी प्रधानलाई बेलायतको प्रतिष्ठित अनुसन्धान फेलोसिप, ५ करोड २५ लाख रुपैयाँ अनुदान प्राप्त

हाम्रो पेज

३० कार्तिक २०८३, सोमबार १४:५५
रोजी प्रधान श्रेष्ठ
विराटनगर, ३० कात्तिक । विराटनगरकी अनुसन्धानकर्ता डा. रोजी प्रधान श्रेष्ठले बेलायतको प्रतिष्ठित ब्रिटिश एकेडेमी अन्तर्राष्ट्रिय अनुसन्धान फेलोसिप–२०२६ प्राप्त गरेकी छन्। दुई वर्षे अनुसन्धान परियोजना सञ्चालनकालागि उनले २ लाख ५५ हजार ८८४.७३ बेलायती पाउन्ड अर्थात् करिब ५ करोड २५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त गरेकी हुन्।

यस उपलब्धिसँगै डा. प्रधान उक्त प्रतिष्ठित फेलोसिप प्राप्त गर्ने पहिलो नेपाली अनुसन्धानकर्ता बनेकी छन्। बेलायतस्थित लफबरो विश्वविद्यालयमा सञ्चालन हुने अनुसन्धान परियोजनाको नेतृत्व उनले प्रमुख अनुसन्धानकर्ताका रूपमा गर्नेछिन्।

विराटनगर महानगरपालिका–२ माइती भएकी डा. प्रधानको परिवार केही वर्षअघिसम्म विराटनगर–५ मा बसोबास गर्दै आएको थियो। हाल उनको परिवार काठमाडौंमा बस्दै आएको छ। उनका श्रीमान् सशस्त्र प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) डा. मन्दिप श्रेष्ठ हुन्। एक छोरा र एक छोरीकी आमा प्रधान पछिल्लो समय अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा सक्रिय छिन्।

आफूले प्राप्त गरेको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई नेपालको अनुसन्धान क्षेत्र र समग्र देशकै गौरवको विषय भएको डा. प्रधानले बताएकी छिन्। उनले सन् २०२६ डिसेम्बरदेखि २०२८ नोभेम्बरसम्म बेलायतमा रहेर अनुसन्धान परियोजनाको नेतृत्व गर्नेछिन्।

उनको अनुसन्धानको मुख्य विषय ऊर्जा गरिबी, लैङ्गिक समानता र आप्रवासनसँग सम्बन्धित छ। ‘इनर्जी प्रिक्यारिटी एट द मार्जिन्स: इन्टरसेक्सनल पर्सपेक्टिभ्स अन एज, जेन्डर एन्ड माइग्रेसन इन द युकेज नेट जिरो ट्रान्जिसन’ शीर्षकको अनुसन्धानले बेलायतले शून्य कार्बन उत्सर्जनतर्फ अघि बढाइरहेको ऊर्जा रूपान्तरणले सीमान्तकृत समुदायमा पार्ने प्रभावको अध्ययन गर्नेछ।

विशेषगरी उमेर, लैङ्गिकता र आप्रवासनका कारण ऊर्जा पहुँच तथा उपयोगमा देखिने असमानता र त्यसबाट उत्पन्न सामाजिक प्रभावलाई अनुसन्धानमा समेटिनेछ। ऊर्जा तथा जलवायु परिवर्तनसम्बन्धी मूलधारका नीतिमा पर्याप्त प्रतिनिधित्व नपाएका समुदायका आवश्यकता र अनुभवलाई नीतिगत तहमा कसरी समेट्न सकिन्छ भन्ने विषय पनि अध्ययनको महत्वपूर्ण पक्ष रहनेछ।

डा. प्रधानका अनुसार जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालका लागि पनि यो अनुसन्धान उपयोगी हुन सक्छ। अनुसन्धानबाट प्राप्त ज्ञान र अनुभवले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु जोखिम तथा ऊर्जा गरिबीका विषय उठाउन सहयोग पुग्ने उनको विश्वास छ।

अनुसन्धानबाट प्राप्त निष्कर्ष शैक्षिक प्रकाशन, नीतिगत बहस तथा अनुसन्धान प्रतिवेदनमार्फत सार्वजनिक गरिनेछ। यसले समावेशी र न्यायपूर्ण ऊर्जा रूपान्तरणसम्बन्धी नीतिगत बहसलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

ब्रिटिश एकेडेमी बेलायतको मानविकी तथा सामाजिक विज्ञान क्षेत्रको प्रतिष्ठित राष्ट्रिय शैक्षिक संस्था हो। सन् १९०२ मा स्थापना भएको यस संस्थाले अनुसन्धान, प्राज्ञिक उत्कृष्टता तथा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमा काम गर्दै आएको छ। संस्थाले रोयल सोसाइटीसँगको सहकार्यमा अन्तर्राष्ट्रिय फेलोसिप कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ।

फेलोसिप प्राप्तिसँगै डा. प्रधानले बेलायतको ग्लोबल ट्यालेन्ट भिसासमेत प्राप्त गरेकी छन्। अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वलाई लक्षित यस विशेष भिसाले उनलाई बेलायतमा अनुसन्धान तथा प्राज्ञिक कार्य अघि बढाउन थप अवसर प्रदान गर्नेछ।

शैक्षिक क्षेत्रमा समेत उत्कृष्ट उपलब्धि हासिल गरेकी डा. प्रधानले पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा गोल्डमेडल प्राप्त गरेकी थिइन्। उनले सन् २०२३ मा थाइल्यान्डस्थित प्रिन्स अफ सोङ्खला विश्वविद्यालयबाट दिगो ऊर्जा व्यवस्थापन विषयमा विद्यावारिधि पूरा गरेकी हुन्।

यसअघि उनले युरोपेली आयोगको अनुसन्धान तथा नवप्रवर्तन कार्यक्रम ‘होराइजन युरोप’ अन्तर्गत सन् २०२५ मा मेरी स्क्लोडोस्का क्युरी पोस्टडक्टोरल फेलोसिपको ‘सिल अफ एक्सिलेन्स’ समेत प्राप्त गरेकी थिइन्।

ऊर्जा गरिबी, लैङ्गिक समानता, समावेशी ऊर्जा रूपान्तरण तथा दिगो विकास उनका अनुसन्धानका प्रमुख क्षेत्र हुन्। उनका अनुसन्धानमूलक लेखहरू अन्तर्राष्ट्रिय स्तरका ‘इनर्जी रिसर्च एन्ड सोसल साइन्स’, ‘इनर्जी पोलिसी’ तथा ‘इन्टरनेसनल जर्नल अफ डिजास्टर रिस्क रिडक्सन’ लगायतका जर्नलमा प्रकाशित छन्।

उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), एसियाली विकास बैंक (एडीबी), एनर्जिया, एसएनभी नेपाल तथा फिन चर्च एडसँग सम्बन्धित अनुसन्धान र परामर्श कार्यमा समेत योगदान पुर्‍याएकी छन्।

बेलायतमा सञ्चालन हुने उनको अनुसन्धानबाट प्राप्त ज्ञान, अनुभव र निष्कर्षले नेपाललगायत विकासोन्मुख देशमा ऊर्जा गरिबी न्यूनीकरण, सामाजिक समावेशिता तथा न्यायपूर्ण ऊर्जा रूपान्तरणका क्षेत्रमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ। विराटनगरसँग जोडिएको यो उपलब्धिले नेपाली अनुसन्धानकर्ताको अन्तर्राष्ट्रिय पहिचान र क्षमता पनि उजागर गरेको छ।