हाम्रो पेज
विराटनगर ८ का दिलीप चौधरीले दुगड अर्थ मुभर्सले भ्याट बापतको रकम अनावश्यक माग गरेर ३३ लाख रुपैंयाको चेक फिर्ता नगरेको बताएका छन् । उनले चेक फिर्ताकालागि प्रहरीलाई अनुरोध गर्दै जाहेरी दिने बताए । उनले दुगड अर्थ मुभर्सबाट दोस्रो पक्षका रुपमा जेसीभी खरिद गर्दा बिभिन्न मितिमा ५ वटा चेकमा ५४ लाख रुपैयाँ भरेर दिएका थिए ।
जसअनुसार २०८२ माघ ६ गतेको ३ लाख, माघ २१ मा ५ लाख, फागुन ६ मा ५ लाख र फागुन महिनाकै गते नलेखि मुभर्सले मागे अनुसार २० लाखको चेक (मनकामना हायर पर्चेजको नाममा) र २१ लाख रुपैंया भरेर दिएका थिए । २० र २१ लाख रुपैंयाको चेकमा मिति नभरी दिन मुभर्सका बजार ब्यवस्थापक जगन्नाथ साहले चौधरीलाई दवाब दिएको पीडित चौधरीले बताएका छन् ।
यो चेकमा उल्लेख भएको कुल रकम जेसीभीको मुल्य भन्दा बढी हो । चौधरीले ४५ लाख रुपैंयामा गत माघ १ मा मुभर्सबाट पुरानो जेसीभी खरिद गरेपनि मुभर्सले चेक भने पछि फिर्ता गर्ने शर्तमा बढी रकमको लिएको चौधरीको भनाइ छ । चौधरीले हालसम्ममा करिब २४ लाख रुपैयाँ तिरिसकेका छन् भने २१ लाख रुपैयाँ तिर्न बाँकी रहेकोले उक्त रकम बराबरको मात्र चेक राखेर बढी रकम ३३ लाख रुपैयाँको चेक फिर्ताकालागि पटकपटक आग्रह गरेको बताए ।
बाँकी २१ लाख रुपैंया तिर्न चाहँदा भ्याटको कारण देखाएर मुभर्सले रकम लिन र चेक फिर्ता गर्न मानेको छैन । मुल्य तोकेको ५ महिनापछी जेसीभीमा १३ प्रतिशत भ्याट माग थप गरिएपछी मुभर्स र चौधरीबीच बिवाद भएको हो । सरकारले आर्थिक वर्ष २०८३–२०८४ को बजेटमा निर्माण उपकरणमा भ्याट लगाउने सम्बोधन गरेकाले मुभर्स चौधरीसँग भ्याट लिने पक्षमा छ । चौधरीले भने आफुले जेसीभी लिंदा भ्याट तिर्नु नपर्ने भनेकोले अहिले उक्त भ्याट बराबरको रकम कम्पनीले तिर्नुपर्ने बताउँछन् ।
चौधरीले तिर्न बाकी रकमको ब्याजसमेत तिर्दै आएको बताएका छन् । चौधरीले आवश्यक पहल गरिदिन आग्रह गर्दै मंगलबार नेपाल उद्योग परिसंघ कोशी प्रदेश कार्यालयमा निवेदन दिएका छन् । तिर्न बांकी रकम लिन र आफ्नो कम्पनी बिएसटी कन्स्ट्रक्सन रंगेली १ का नाममा जेसीभी पास गराउन आवश्यक पहल गरिदिन निवेदनमा माग गरिएको छ ।
यसबारे प्रतिक्रिया लिन खोज्दा दुगड मुभर्सका बजार ब्यवस्थापक जगन्नाथ साहले चेक बारे मिडियालाई जवाफ दिनु जरुरी नरहेको बताए । उनले भने–‘जति तिर्न बाँकी छ, हिसाब गरेर तिरेपछी मात्रै चेक फिर्ता पाउँछ । यो चौधरी र हामी बीचको कुरा हो, बाँकी कुरा उसैलाई सोध्नु ।’ व्यवस्थापक शाहले चौधरीले पुरा रकम नतिरे चेकपनि फिर्ता नदिने अडान राखे ।