हाम्रो पेज

उता बंगालको खाडीमा विकसित मुरासु चक्रवात भारतको आन्ध्र प्रदेशमा प्रवेश गरेको छ। भारतको मौसम विभागका अनुसार सोमबार बिहान ४ बजेसम्ममा चक्रवातले आन्ध्र प्रदेशको तटीय क्षेत्र पूर्ण रूपमा पार गरिसकेको छ। यो चक्रवात गएराति १ बजे नेल्लोर र नरसापुरको बिचमा अवतरण भएको थियो। आन्ध्रका तटीय क्षेत्रहरूमा १०० देखि ११० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ। आन्ध्र प्रदेशका तीन विमानस्थलमा १९ उडान रद्द गरिएका छन्। चेन्नई विमानस्थलमा पनि एघार उडान रद्द गरिएका छन्। पाँच राज्यमा ३७ वटा एनडीआरएफ टोली खटाइएको छ, जसमध्ये १३ वटा आन्ध्र प्रदेशमा छन्। ओडिसा सरकारले गंजम, गजपति, रायगडा, कोरापुट र मलकानगिरी जिल्लाहरूबाट १ लाख ६ हजार मानिसलाई सुरक्षित स्थानमा सारेको छ।
आँधीले मध्य प्रदेश, छत्तीसगढ, केरला, तेलंगाना, कर्नाटक र महाराष्ट्रलाई पनि असर गर्ने अनुमान गरिएको छ। उक्त चक्रवातले यता नेपालमा के कस्तो असर पार्छ भन्ने विषयमा मौसम पूर्वानुमान महाशाखाले अर्को अद्यावधिक जानकारी दिइसकेको छैन। मौसम महाशाखाले गत आइतबार साँझ जारी गरेको ‘चक्रवात मुरासु विशेष मौसम बुलेटिन’मा भने ‘हालसम्मको विश्लेषणअनुसार उक्त मौसम प्रणालीका कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना देखिएको छैन। नेपाल मौसम विज्ञान विभागले उक्त मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकताअनुसार थप सूचना अद्यावधिक गर्दै जानेछ’ भनिएको थियो।