शान्तिकुनाको डेरामा अनलाइन क्यासिनोः ९१ लाख नगद र डेढ किलो गाँजासहित २६ वर्षीय युवा पक्राउ

हाम्रो पेज

१० भाद्र २०८२, मंगलवार १७:५२

ललितपुर,१० भाद्र । ललितपुरको शान्तिकुनास्थित एक सामान्य डेरा कोठालाई अनलाइन जुवा सट्टेबाजी र लागूऔषध कारोबारको अखडा बनाएर संचालन गर्दै आएका एक युवालाई प्रहरीले नगद र अपराधमा प्रयोग भएका उपकरणसहित पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको संयुक्त टोलीले सोमबार साँझ ललितपुर महानगरपालिका ४, शान्तिकुना मार्गमा छापा मारेको थियो। त्यसक्रममा सिन्धुलीको कमलामाई नगरपालिका २ घर भई हाल उक्त स्थानमा डेरा गरी बस्ने २६ वर्षीय गौरव स्याङ्तानलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनको कोठामा खानतलासी गर्दा ओछ्यान तथा विभिन्न ठाउँमा लुकाइराखेको अवस्थामा ९१ लाख ५० हजार रुपैयाँ नगद बरामद गरेको छ। यसका साथै, प्रहरीले डेढ किलोग्राम गाँजा, पैसा गन्ने मेसिन र डिजिटल तराजुसमेत फेला पारेको छ। प्रारम्भिक अनुसन्धानमा स्याङ्तानले प्रविधिको दुरुपयोग गरी कोठाबाटै अनलाइन जुवा खेलाउने र त्यसबाट आएको कमिसन सङ्कलन गर्ने गरेको खुलेको छ। प्रहरीका अनुशार बरामद गरिएका प्रमुख सबुत प्रमाणहरूमा नगद ९१ लाख ५० हजार ,लागूऔषध १ दशलमव ५ किलोग्राम गाँजा जस्तो देखिने पदार्थ,  ११ थान विभिन्न कम्पनीका मोबाइल सेट ,१ थान आईप्याड र १ थान ल्यापटप ,१ थान पैसा गन्ने मेसिन र १ थान डिजिटल तराजु, १ थान पकेट वाईफाई राउटर यस्तै गौरव स्याङ्तानको नाममा रहेका विभिन्न बैंकका ८ वटा एटीएम कार्ड र एउटा बोर्ड बरामद भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार, पक्राउ परेका स्याङ्तानलाई बरामद गरिएका सबुत प्रमाणसहित नियन्त्रणमा लिई आवश्यक कारबाही तथा थप अनुसन्धान अघि बढाइएको छ।