search logo
NOTIFICATIONS

नेपालीको महान् पर्व बडादशैं सुरु, आज घरघरमा घटस्थापना गरिँदै

हाम्रो पेज

२५ आश्विन २०८३, आईतवार १२:५७

काठमाडौं, २५ आश्विन । नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दशैंको धार्मिक अनुष्ठान आरम्भ भएको हो । घटस्थापनाका अवसरमा आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गरिँदैछ । विधिपूर्वक पूजा कोठा वा दशैं घरमा जौँ रोपेर जमरा राख्ने परम्परा छ । विजयादशमीका दिन टीका र प्रसादसँगै जमरा ग्रहण गरिने भएकाले यसलाई समृद्धि र शुभताको प्रतीकका रूपमा लिइन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज घटस्थापनाको उत्तम साइत बिहान ११ः४७ बजे रहेको छ । समितिले सूर्योदयकालमा प्रतिपदा परेका दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार आजको दिन निर्धारण गरेको जनाएको छ । नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीका साथै नवदुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ ।

पहिलो दिन शैलपुत्री र क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ । बडादशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ । यस पर्वमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ । रोजगारी, अध्ययन तथा अन्य कामले घरबाहिर रहेका मानिस परिवारसँग दसैँ मनाउन घर फर्कने भएकाले यो पर्व पारिवारिक पुनर्मिलनको अवसरसमेत हो । विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । त्यसपछि कोजाग्रत पूर्णिमासम्म दशैंको उत्सव जारी रहने धार्मिक परम्परा छ ।

काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिवत् रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन आज दशैं घरमा जमरा राखिएको हो । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा घरघरमा जमरा राख्ने प्रचलन छ । बिहानै नित्यकर्म गरी बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैं घरमा जमरा छर्ने गरिन्छ। आज दशैंको पहिलो दिन, घटस्थापना ।  जमरा राखिन्छ । तर यस वर्ष कतिपयले असोज २५ गते ‘राम्रो दिन’ नभएकाले २६ गते घटस्थापना गर्नुपर्ने अभिव्यक्ति पनि दिने गरेका छन् । यस्ता अभिव्यक्ति दिनेहरुको भिडियो हिजोदेखि नै सामाजिक सन्जालहरुमा भाइरल छन् ।

किन भनियो २६ गते जमरा राख्न ?

आश्विन शुक्ल प्रतिपदाको दिन चित्रा नक्षत्र वा वैधृति योग परेमा शुभ नहुने भनाइ छ । चित्रा नक्षत्र परेमा धननाश हुने र वैधृति योग परेमा पुत्र नाश हुने विश्वास गरिन्छ । यस वर्ष असोज २५ गते आइतबार आश्विन शुक्ल प्रतिपदा तिथिको दिन राति १० बजेर ५४ मिनेटसम्म चित्रा नक्षत्र र राति १० बजेर ३० मिनेटसम्म वैधृति योग छ । त्यसैले कतिपयले असोज २६ गते घटस्थापना गर्नुपर्ने तर्क गरेका हुन् ।

यसबारे पञ्चाङ्ग निर्णायक समिति के भन्छ ?

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाको दिन पूरापर चित्रा नक्षत्र वा वैधृति योग परेमा सकभर यी दुवैको घटी–पला बितेपछि घटस्थापना गर्नुपर्ने बताइन्छ । पूरा दिनभरी र पूरा रातभरी चित्रा वा वैधृति योग परेको रहेछ भने पनि शास्त्रले समस्याको समाधान दिएको छ ।यस्तो अवस्थामा चित्रा वा वैधृतिको तीन चौथाइ घटी कटाइ पछिल्लो एक चौथाइ घटीमा घटस्थापना गर्नुपर्छ । त्यसैले पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको शुभसाइत निकाल्दा मध्याह्न काल र अभिजित मुहूर्तको मध्य पारेर आज बिहान ११ बजेर ४७ मिनेटको साइत निर्धारण गरेको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले  बताउनुभयो। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको हो । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता भएकाले भोलि २६ गते घटस्थापना गर्ने भनी चलाइएको हल्ला शास्त्रसम्मत नहुने  उहाँले बताउनुभयो ।