धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

काठमाडौं, २३ आश्विन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा सडक भासिएको छ। शुक्रबार साँझ सडकको करिब सय मिटर भाग चर्किएको र २० मिटर खण्ड भासिएको हो। सडक भाँसिएपछि राजमार्गमा सवारी साधन सञ्चालन रोकिएको छ। सडकको किनारासम्मै चर्किएको छ। थप भासिने र पहिरो जाने जोखिम बढेको छ। धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाका अनुसार सडक थप भासिन सक्ने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। सडकको अवस्था जोखिमपूर्ण रहेकाले तत्काल सवारी सञ्चालन गर्न कठिनाइ भएको उहाँले बताउनु भयो । राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सवारी साधन तथा यात्रु प्रभावित भएका छन्। सडक भासिएको क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेकाले अवस्था सामान्य नहुँदासम्म आवागमन कठिन देखिएको ट्राफिक प्रमुख थापाले बताउनुभयो ।