प्रतिनिधिसभामा विपक्षीको अवरोध, वेल घेराउका बीच संसद् सुचारु

हाम्रो पेज

७ जेष्ठ २०८३, बिहीबार १७:१३
नेपाली कांग्रेस बाहेक प्रतिपक्षले गरे वेल घेराउ


काठमाडौँ, ६ ज्येष्ठ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरुको विरोधका बीच सुचारु भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठकमा पनि विपक्षीको अवरोध नहटेपछि सभामुखले विरोधका बीच सदन सुचारु गर्नुभएको हो । बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून मन्त्री सोभिता गौतमले मतदाता नामावलीसहितका विभिन्न निर्वाचन सम्बन्धी विधेयक पेश गर्नुभएको छ। यसअघि कार्यसूची अनुसार सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गर्दा विपक्षी दलले सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने माग राख्दै विरोध जनाएका थिए । प्रतिनिधिसभाको आजको बैठकको विशेष समय सकिएपछि प्रतिपक्षीले उठेर बिरोध जनाएकामा सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमाले का सांसद ऐन महरलाई समय दिनुभएको थियो । उहाँले प्रधानमन्त्रीको उपस्थितिको माग गनुृभएको थियो । प्रधानमन्त्रीले संसद्लाई छलेको भन्दै सांसद महरले नियम ५६ लाई अनदेखा गर्दा प्रम स्वेच्छाचारी हुने भएकाले सदनमा बोलाउन सभामुखसँग माग गर्नुभएको थियो । प्रत्यक्ष प्रश्न गर्न सकिने व्यवस्था नियमावलीमा भएकाले सभामुखले पहिलो हप्ताको कुनै एक घण्टा गर्ने व्यवस्था आज जेठको ७ गतेसम्म नभएकाले प्रमलाई उपस्थित गराएर सदन अघि बढाउन उहाँले माग गर्नुभयो ।
प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका सांसद आरेन राईले विधि र नीतिको शासनभन्दा माथि हुने गरी नियमावली बाहिर गएर संसद चल्न नसक्ने भएकाले सभामुखले प्रधानमन्त्रीलाई बोलाउनलाई रुलिङ गर्न माग गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का सासद युवराज दुलालले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने व्यवस्था उल्लङ्घन भएको, संविधान मिचिएको र सार्वभौम जनताप्रतिको सम्मान यही हो भनी प्रधानमन्त्रीलाई बोलाउन माग गर्नुभएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद खुस्बु ओलीले सदनमा १५ जनाले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने, त्यसमा सत्तापक्षकाले पनि सोध्न पाउने भएकाले प्रधानमन्त्रीलाई उपस्थित बोलाउन माग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद अशोककुमार चौधरीले कार्यसूची अनुसार संसद् अघि बढ्नुपर्ने बताउनुभयो । सभामुख अर्यालले पटक पटक सांसदलाई बस्न अनुरोध गर्दा नबसेपछि बैठक स्थगित गरिएको थियो।