रोटरी क्लब अफ विराटनगरद्वारा विद्यार्थीलाई खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण

हाम्रो पेज

२० जेष्ठ २०८३, बुधबार १५:४२

विराटनगर, २० जेठ I सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लव अफ विराटनगरले बुधबार विराटनगर–४ स्थित श्री ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई खाद्यान्न तथा स्टेशनरी सामग्री वितरण गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक खाद्यान्न सामग्रीसँगै शैक्षिक सामग्री वितरण गरिएको हो। कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक तथा पोषणसम्बन्धी आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्य राखिएको  क्लवका अध्यक्ष  टी.पी. आचार्यले बताउनुभयो I

अध्यक्ष आचार्यले शिक्षा समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा समुदाय र सामाजिक संस्थाहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो । रोटरीले शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वको क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

क्लबका सर्भिस चेयर दीपक गौतमले विद्यार्थीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउन पाउँदा क्लबलाई खुशी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक बेधनिधी भट्टराईले विद्यालय र विद्यार्थीहरूको आवश्यकतालाई सम्बोधन गर्दै सहयोग गरेकोमा रोटरी क्लब अफ विराटनगरप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा रोटरी क्लबकी सचिव सरिता अग्रवाल, सदस्यहरू अमिस रेग्मी, सौरभ पोखरेल, सन्तोष सिग्देल, प्रेम पारख, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थीको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।