
विराटनगर, १४ मंसिर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र तयार गर्न निर्देशन दिनु भएको छ। सो अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अवस्थामा रहेका दुई वटा भवन निर्धारित समयमै तयार गरी हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनु भएको हो । बिरामीको चापलाई दृष्टिगत गरी निर्माण प्रक्रिया सुरु भएको सो अस्पतालको नयाँ भवन बनाउने काम ढिलो भएको भन्ने प्राप्त गुनासोलाई सम्बोधन गर्ने क्रममा उहाँले अस्पताल प्रशासन र निर्माण व्यवसायीलाई काम छिटो सक्न निर्देशन दिनुभयो । सो अस्पतालका लागि निर्माणाधीन अवस्थामा रहेको रु दुई अर्ब ४५ करोड लागतको ११ तले भवनको ३५ प्रतिशत र रु ३८ करोड लागतको चार तले भवनको ६० प्रतिशत मात्र काम सम्पन्न भएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले जनाएको छ । निर्माण व्यवसायी केसी एवं रमण कन्स्ट्रक्सनले करिब चार वर्षअघि निर्माण सुरु गरेको उक्त भवन काम सम्पन्न गरी यसैवर्ष हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सो अवसरमा कोशी अस्पतालका प्रमुख डा रुणा झा र सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका डिभिजनल इञ्जिनियर सुरेन्द्र साहले मन्त्री घिसिङलाई अस्पतालको वस्तुस्थिति र भवन निर्माणसम्बन्धी जानकारी गराउनु भएको थियो ।
