search logo
NOTIFICATIONS

गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सम्बोधन गर्न अनुरोध पत्र

हाम्रो पेज

११ जेष्ठ २०८३, सोमबार १३:०७

काठमाडौं, ११ जेष्ठ । प्रधानमन्त्री बालेन्द्र साह बालेनले यस वर्षको गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ। १५ जेठमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको हो । प्रधानमन्त्रीको कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको पत्रमा संविधानको धारा ६६ को उपधारा २ अनुसार गणतन्त्र दिवस समारोहलाई सम्बोधन गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरिएको उल्लेख छ । प्रधानमन्त्री कार्यालयबाट अनौपचारिकरूपमा पनि राष्ट्रपतिलाई अनुरोध भइसकेको छ । गणतन्त्रको प्रतीक राष्ट्रपति भएको हुँदा उहाँले नै सम्बोधन गर्नु वाञ्छनीय हुने प्रधानमन्त्री कार्यालयको तर्क छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले पत्र आएको पुष्टि गर्नुभएको छ। विगतमा काठमाडौं महानगरपालिकाको मेयर छँदा पनि बालेनले गणतन्त्र दिवसको विशेष समारोह बहिष्कार गर्ने गरेका थिए । हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा आयोजना हुने मूल समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहँदै आएको छ । उक्त समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत उच्चपदस्थ व्यक्तिहरूको सहभागिता रहने गर्दछ । सरकारको नीति तथा कार्यक्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिन पनि प्रधानमन्त्री शाह जानु भएको थिएन । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको तर्फबाट जवाफ दिनु भएको थियो ।सदनमा प्रधानमन्त्री उपस्थित भएर सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ नदिएको भन्दै विपक्षी दलहरु आक्रोशित बन्दै आएका छन् ।