एएफसी एसियन कप छनोटः लाओसमाथि नेपालको गोलवर्षा, साम्बाको सुपर ह्याट्रिकले शतकीय खेल बन्यो अविस्मरणीय

हाम्रो पेज

१६ असार २०८२, सोमबार ११:३०

विराटनगर, १६ अषाढ I नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आफ्नो १०० औं अन्तर्राष्ट्रिय खेलमा ऐतिहासिक जित निकाल्दै एएफसी एसियन कप छनोटमा सानदार सुरुआत गरेको छ।

फरवार्ड सावित्रा भण्डारी साम्बाको सुपर ह्याट्रिक ४ गोलको मद्दतमा नेपालले आइतबार लाओसलाई ९–० को फराकिलो अन्तरले स्तब्ध बनायो। यो जितसँगै नेपालले आफ्नो शतकीय खेललाई अविस्मरणीय बनाएको छ। साम्बाको उत्कृष्ट प्रदर्शनका साथै अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमारी घिसिङले पनि गोल गर्दै टोलीको विशाल जितमा योगदान दिए। खेलको १२औं मिनेटमा नै अनिता बस्नेतले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाइन्। साम्बाले हेडरमार्फत मिलाएको पासलाई उनले सुन्दर ढंगले छातीले नियन्त्रण गर्दै गोलमा परिणत गरेकी थिइन्। पहिलो हाफ सकिनै लाग्दा कप्तानको जिम्मेवारी सम्हालेकी साम्बाले अनिताको उत्कृष्ट क्रसमा सुन्दर हेडर गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। पहिलो हाफमा २–० को अग्रता लिएको नेपाल दोस्रो हाफमा भने निकै आक्रामक देखियो र गोलको वर्षा नै गर्‍यो। दोस्रो हाफ सुरु भएको दुई मिनेटमै सरु लिम्बूले गोल गरिन्। सबिता रानामगरले बक्सभित्रबाट दिएको कटब्याक पासलाई उनले पहिलो टचमै जाली चुमाउँदै आफ्नो ५०औं अन्तर्राष्ट्रिय खेललाई यादगार बनाइन्। त्यसपछि खेलमा नेपाल पूर्ण रूपमा हाबी भयो। ५५औं मिनेटमा, लाओसकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। त्यसको एक मिनेटपछि नै ५६औं मिनेटमा, रश्मी घिसिङले गोल थप्दै खेललाई ५–० को स्थितिमा पुर्‍याइन्। ७४औं मिनेटमा, साम्बाले आफ्नो ह्याट्रिक पूरा गरिन्। ७९औं मिनेटमा, साम्बाले व्यक्तिगत चौथो गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ६२ पुर्‍याइन्। ८३औं मिनेटमा, वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेकी अनिता केसीले अर्को गोल थपिन्। अन्त्यमा, साबित्राकै एक शक्तिशाली प्रहार लाओसकी डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएपछि नेपालले ९(० को विशाल जित सुनिश्चित गर्‍यो।

समग्रमा, नेपालको यो जित केवल तीन अंकका लागि मात्र नभएर आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलको अवसरमा प्रस्तुत गरिएको एक अविस्मरणीय प्रदर्शन थियो, जसले टोलीको आत्मविश्वासलाई नयाँ उचाइमा पुर्‍याएको छ। समूह एफमा आयोजना उज्वेकिस्तान र श्रीलंका पनि छन् । अब नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताकै कमजोर मानियो यो टोलीलाई आइतबार नै घरेलु टोली उज्बेकिस्तानले १०–० ले पाखा लगाइसकेको छ । उज्बेकिस्तान र नेपालबीच हुने समूह चरणको अन्तिम खेलले भने अस्ट्रेलिया जाने टोलीको छिनोफानो गर्नेछ ।