search logo
NOTIFICATIONS

देवानगञ्ज घटनापछि सुनसरी अशान्तः राजमार्गदेखि इनरुवा बजारसम्म कर्फ्यु

हाम्रो पेज

१२ श्रावण २०८३, मंगलवार १६:२९
देवानगञ्ज घटना छानबिन टोली घटनास्थलमा, विराटनगर बजार बन्द


विराटनगर, १२ श्रावण । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप र त्यसलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोलीबाट एक युवाको मृत्यु भएपछि सुनसरीसहित कोशी प्रदेशका विभिन्न स्थानको अवस्था तनावग्रस्त बनेको छ। घटनाको विरोधमा मंगलबार सुनसरी र मोरङका विभिन्न स्थानमा प्रदर्शन, बन्द र विरोध जुलुस भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रदर्शन उग्र बन्दै तोडफोड र आगजनीका घटना हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पकलीदेखि कोशी ब्यारेजसम्मको महेन्द्र राजमार्ग क्षेत्र तथा इनरुवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको आदेशअनुसार अर्को सूचना जारी नभएसम्म तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न निषेध गरिएको छ। यसअघि नै देवानगञ्ज र हरिनगर गाउँपालिकामा निषेधाज्ञा तथा कर्फ्यु जारी छ।
आइतबार राति ठूलो आवाजमा डिजे बजाउने विषयलाई लिएर सुरु भएको विवाद हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको थियो। घटनामा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। घटनामा सर्वसाधारण, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।


घटनाको विरोधमा सोमबारदेखि सुनसरी, विराटनगर तथा तराई–मधेशका विभिन्न स्थानमा प्रदर्शन जारी छ। विश्व हिन्दु परिषद् नेपाल मोरङको युवा मोर्चाले देवानगञ्ज गोलीकाण्डको निष्पक्ष छानबिनको माग गर्दै मंगलबार विराटनगर बन्द गराएको छ। बन्दका कारण बजार, उद्योग–व्यवसाय तथा शैक्षिक संस्था प्रभावित भएका छन्। विराटनगर महानगरपालिकाले औपचारिक रूपमा बिदा घोषणा नगरे पनि सुरक्षा जोखिम र विद्यालय बस सञ्चालनमा अवरोध हुन सक्ने अवस्थाका कारण अधिकांश विद्यालय तथा कलेज स्वतः बन्द भएका छन्। यस्तै, घटनाको शोकमा देवानगञ्ज र हरिनगर गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन्।


घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। टोली मंगलबार घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। समितिले घाइतेसँग भेटघाट गर्नुका साथै जिल्ला प्रशासन कार्यालय सुनसरीमा सरोकारवालासँग छलफल गरिरहेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।घटनापछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी, सुनसरी प्रहरी प्रमुख एसपी तथा सशस्त्र प्रहरीका जिल्ला प्रमुखको जिम्मेवारी परिवर्तन गर्दै गृह मन्त्रालयमा तानेको छ। प्रदर्शनकारीले सुरुदेखि नै जिम्मेवार अधिकारीमाथि कारबाहीको माग गर्दै आएका थिए। प्रशासनले अवस्था सामान्य बनाउन समुदायका अगुवा, राजनीतिक दल र सुरक्षा निकायसँग निरन्तर संवाद भइरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।