इरानमा थप ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए, अमेरिकाले नागरिकलाई भन्यो १५ देशबाट चाडै बाहिरिनू

हाम्रो पेज

१९ फाल्गुन २०८२, मंगलवार १२:१३

एजेन्सी, १९ फाल्गुन । इरानमाथि जारी अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । अमेरिका–इजरायल आक्रमणका क्रममा पछिल्लो २४ घण्टामा ८५ सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको हो ।मानव अधिकार कार्यकर्ताहरूको समाचार एजेन्सी एचआरएएनए ले सोमबार इरानमा संयुक्त अमेरिका–इजरायल आक्रमणपछि पछिल्लो २४ घण्टामा कम्तीमा ८५ जना सर्वसाधारण र ११ जना सैनिक गरी ९६ जनाको मृत्यु भएको जनाएको छ । अमेरिकाको वाशिङ्टन डीसीस्थित उक्त समूहले फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल आक्रमणपछि हालसम्म सर्वसाधारणको मृत्यु संख्या कम्तीमा ७४२ पुगेको जनाएको छ । यसमा १७६ जना बालबालिका पनि समावेश रहेको बताइएको छ । यसअघि इरानी रेड क्रिसेन्ट सोसाइटीले मृत्यु संख्या ५५५ जना रहेको जनाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराले यी तथ्यांकहरू स्वतन्त्र रूपमा पुष्टि गर्न भने नसकिएको समाचारमा उल्लेख गरेको छ ।एचआरएएनएका अनुसार सोमबारका अमेरिका–इजरायल आक्रमणहरूमा विभिन्न स्थान र पूर्वाधारहरू लक्षित गरिएका थिए । जसमा केही सैन्य अड्डा, दुई आवासीय क्षेत्र र बन्दर अब्बासस्थित शाहिद बहोनार पियर पनि समावेश छन् । अर्काेतर्फ अमेरिकाले मध्यपूर्वका देशमा रहेका आफ्ना नागरिकहरूलाई सक्दो चाँडो बाहिरिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले आक्रमणको खतराका कारण मध्यपूर्वका देशहरू छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो । ती देशहरूमा बहराइन, मिस्र, इरान, इराक, इजरायल, वेस्ट बैंक, गाजा, जोर्डन, कुवेत, लेबनान, ओमन, कतार, साउदी अरब, सीरिया, संयुक्त अरब इमिरेट्स र यमन समावेश छन् । इरान मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य बेसमाथि आक्रमण गरिरहेका बेला अमेरिकी विदेश मन्त्रालयकातर्फबाट पछिल्लो बयान आएको हो । इजरायल र अमेरिकाले शनिवारदेखि इरानमाथि हमला सुरू गरेका थिए । आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको छ । त्यसपछि इरानले पनि इजरायल र अमेरिकाका सैन्य बेसक्याम्प रहेका खाडी मुलुकमाथि हमला जारी राखेको छ । साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट आक्रमण भएको साउदीको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।