search logo
NOTIFICATIONS

सुनचाँदी खरिदमा अब ‘केवाईसी’ अनिवार्य, १० लाखभन्दा बढीको कारोबारमा सरकारी निगरानी

हाम्रो पेज

१ श्रावण २०८२, बिहीबार १३:५९

काठमाडौँ, १ श्रावण । नेपालमा अब बहुमूल्य धातु, विशेषगरी सुन र चाँदीको कारोबार थप पारदर्शी र कडा निगरानीमा हुने भएको छ। आन्तरिक राजस्व विभागले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण गर्ने उद्देश्यले नयाँ निर्देशन जारी गर्दै सबै सुनचाँदी व्यवसायीलाई ग्राहकको पहिचान अनिवार्य रूपमा कायम गर्नुपर्ने व्यवस्था लागू गरेको हो। यो व्यवस्थासँगै अब सुनचाँदीको कारोबारलाई अवैध सम्पत्ति लुकाउने वा गैरकानुनी वित्तीय लगानी गर्ने माध्यम बन्नबाट रोक्न कडा कदम चालिएको छ। विभागको निर्देशनअनुसार, बहुमूल्य धातुको कारोबार गर्ने व्यवसायी सूचक संस्थाले अब व्यवसायिक सम्बन्ध स्थापना गर्ने जुनसुकै ग्राहक वा निकायको पहिचान खोल्नुपर्नेछ। यस्तै एकैपटक वा पटक पटक गरी रु १० लाख वा सोभन्दा बढीको खरिदबिक्री गर्ने ग्राहकको विस्तृत ग्राहक पहिचान केवाईसी फाराम भर्न लगाउनुपर्नेछ। पहिले दिइएको जानकारीमा शंका लागेमा तत्काल पुनः केवाईसी भर्न लगाउन सकिनेछ। प्रत्येक ग्राहकको जोखिम मूल्याङ्कन गरी त्यसको अभिलेख सुरक्षित राख्नुपर्नेछ। यसका साथै उच्च जोखिम देखिएका ग्राहकको हकमा हरेक ६,६ महिनामा केवाईसी अद्यावधिक गर्नुपर्नेछ। वित्तीय जानकारी इकाइ वा सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्थाको कालोसूची वा खैरोसूचीमा परेका देशका नागरिकसँग कारोबार गर्दा विशेष सतर्कता अपनाउनुपर्नेछ। यस्तै संस्थाका कर्मचारीमार्फत हुन सक्ने शंकास्पद कारोबार रोक्न स्पष्ट आन्तरिक नीति बनाउनुपर्नेछ। कर्मचारीको कार्यविभाजन, जोखिम व्यवस्थापनको आधार र ग्राहक पहिचानको प्रक्रिया स्पष्ट पार्नुपर्नेछ। विभागले यो निर्देशनलाई अत्यन्त गम्भीरताका साथ लिएको छ। निर्देशन कार्यान्वयन नगर्ने व्यवसायी वा कम्पनीलाई विभागले रु १ करोडसम्मको जरिवाना गर्न सक्नेछ। गम्भीर प्रकृतिको उल्लंघनमा कम्पनीको दर्ता खारेजीसम्मको कारबाही अगाडि बढाउन सक्ने अधिकारसमेत विभागलाई दिइएको छ। यो नयाँ व्यवस्थाले नेपालमा हुँदै आएको सुनचाँदीको अनौपचारिक र अपारदर्शी कारोबारलाई निरुत्साहित गर्ने र समग्र वित्तीय प्रणालीलाई स्वच्छ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।