हाम्रो पेज

काठमाडौं, १० श्रावण । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि सोमबार औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । लामो समयदेखि निर्माणाधीन रहेको यो राष्ट्रिय गौरवको पूर्वाधार आयोजना सम्पन्न भएसँगै काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार नागढुङ्गामा वर्षौंदेखि हुँदै आएको सवारी जाम र यात्रुको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको यसको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ । यो सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गर्नुभएको थियो ।
२०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो । शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । तत्कालीन भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं, नेपालका लागि जापानका राजदूत किकुता युतका, जाइका प्रमुखलगायतको उपस्थितिमा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु भएको थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रु गरिँदा मुख्य सुरुङको ८२ प्रतिशत निर्माण भइसकेको थियो । त्यतिबेला मुख्य टनेलको ५ सय ६ मिटर खन्न बाँकी थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गर्नुभएको थियो । मुख्य सुरुङको लम्बाइ २ दशमलव ६८ किलोमिटर छ । यसबाहेक २ दशमलव ५५७ किलोमिटरको आपतकालीन सुरुङ छ ।

जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । तर, निर्माणको चरणमा प्रवेश गरेपछि लागत बढ्यो । यसपछि जापानले फेरि ५ अर्ब ऋण सहायता थपिदिएको थियो । यो आयोजना निर्माणको ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो । सुरुङ सोमबारदेखि सञ्चालनमा आउने भएपनि सबै सवारीले प्रवेश पाउने छैनन् । पहिलो दिन आपतकालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढंगले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउने छन् । पैदलयात्री, दुई पाङग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी सुरुङ मार्गभित्र चल्न पाउँदैनन् ।
कति लाग्छ शुल्क ?
सुरुङ प्रयोग निशुल्क भने होइन । काठमाडौं भित्रिँदा र बाहिरिँदा काररभ्यानले क्रमशः ६५ र ६० रुपैयाँ तिर्नुपर्छ । मिनीबस, टिपरले भित्रिँदा १ सय १५, बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले भित्रिँदा २ सय ६०, बाहिरिँदा २ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसबाहेक हेभी ट्रकले भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ तिर्नुपर्ने गरी सरकारले शुल्क निर्धारण गरेको छ । सुरुङमार्ग उद्घाटनसँगै सर्वसाधारणका सबै सवारी साधनलाई तत्काल सञ्चालनको अनुमति भने दिइने छैन । सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने योजना छ । उद्घाटन भएको एक साताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना, आगलागी वा अन्य विपद्को सामना गर्न सकिने क्षमता परीक्षण गर्न ‘मक ड्रिल’ नमूना अभ्यास सञ्चालन गरिनेछ । यस्तै, सुरुङमार्गको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल तथा प्रज्वलनशील पदार्थ बोकेका सवारी साधनलाई भने सुरुङमार्ग प्रयोग गर्न निषेध गरिएको छ ।