रौनकको कीर्तिमान र विपिनको घातक बलिङः भुटानलाई २९८ रनले ध्वस्त पार्दै नेपाल अपराजित रहँदै सेमिफाइनलमा

हाम्रो पेज

१७ असार २०८२, मंगलवार १४:२४
हाइलाइट्स
नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा समूह ए को अपराजित विजेता बन्यो।
रौनक श्रीवास्तवले उमेर समूहमा कीर्तिमानी १ सय ६८ रनको विस्फोटक शतकीय पारी खेले।
विपिन प्रसाद शर्माले ६ ओभर मेडनसहित मात्र ७ रन खर्चेर ४ विकेट लिँदै घातक बलिङ गरे।
अब सेमिफाइनलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ।


विराटनगर, १५ अषाढ ।  मलेसियामा जारी एसीसी पुरुष यू–१६ इष्ट जोन कपमा नेपाली युवा टोलीले आफ्नो दबदबा कायमै राखेको छ। समूह चरणको अन्तिम खेलमा भुटानमाथि २९८ रनको विशाल र सानदार जित निकाल्दै नेपाल अपराजित रहँदै समूह ए को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो। रौनक श्रीवास्तवको कीर्तिमानी शतक र विपिन प्रसाद शर्माको घातक बलिङसामु भुटान निरीह बनेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५८ रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा ३ सय ५९ रनको असम्भव लक्ष्य पछ्याएको भुटान ३२।४ ओभरमा मात्र ६० रन बनाउँदा अलआउट हुन पुग्यो। भुटानको ब्याटिङ लाइनअपलाई ध्वस्त पार्ने क्रममा स्पिनर विपिन प्रसाद शर्माले अविश्वसनीय बलिङ गरे। उनले आफ्नो स्पेलमा ६ ओभर मेडन राख्दै मात्र ७ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए। उनलाई सचिन भट्टले उत्कृष्ट साथ दिँदै ७ ओभरमा ५ मेडनसहित १३ रन दिएर २ विकेट लिए भने सुयोग भट्टराईले पनि १ विकेट आफ्नो नाममा गरे। भुटानका लागि शेजाङ दावाले बनाएको १४ रन नै सर्वाधिक रह्यो। त्यसअघि नेपालको ब्याटिङमा रौनक श्रीवास्तव नायक बने। उनले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको मद्दतले १ सय ६८ रनको ऐतिहासिक पारी खेले, जुन नेपाली उमेर समूहको क्रिकेटमा कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत सर्वाधिक स्कोर हो।

 

पाँचौँ विकेटका लागि उनले जय थापासँग १ सय २५ बलमा १ सय ६१ रनको सानदार साझेदारी गर्दै नेपाललाई विशाल योगफलतर्फ डोर्‍याए। यस्तै, विकेटकिपर श्रीवांस बजगाईले ५४, जय थापाले नटआउट ६१ र सुगम बुढाथोकीले ३५ रनको महत्वपूर्ण योगदान दिए। यसअघि नै इन्डोनेसियालाई ३७० रनको कीर्तिमानी अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालले समूहका सबै चार खेल जित्दै ८ अङ्कका साथ शीर्ष स्थान हासिल गरेको हो। अब उपाधिका लागि हुने सेमिफाइनल भिडन्तमा नेपालले समूह बी को उपविजेता, आयोजक मलेसियाको सामना गर्नेछ। अर्को सेमिफाइनलमा समूह ए को उपविजेता सिंगापुर र समूह बी को विजेता हङकङ भिड्नेछन्।