हाम्रो पेज

काठमाडौं १० जेष्ठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा भईरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। यस्तै, आज राती कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भुभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। काभ्रे र हुम्लामा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर प्रहरीले केही दिन अघिदेखि नै गाडी सञ्चालनमा रोक लगाएको छ । बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेशी सडक खण्डमा गएको बैशाख २२ गतेदेखि गाडी पूर्ण बन्द गरिएको छ । यस्तै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका २ मा गएको वैशाख २९ गतेदेखि हिल्सा–सिमकोट राजमार्गमा सम्भावित पहिरोका कारण गाडी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ । यस्तै भोजपुरको बोखिम क्षेत्रमा बाढीले मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । त्यसै गरी सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पर्ने कोशी राजमार्गमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै बेनी–जोमसोम सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेको छ भने रघुगंगा गाउँपालिका–३ तल्लो बैसरी क्षेत्रमा पनि गाडी एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।