हाम्रो पेज

विराटनगर , १४ श्रावण । सिरहाको गोलबजार सहरी क्षेत्रमा भएको झडपका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ। परिस्थिति नियन्त्रण बाहिर जान नदिन र शान्ति सुव्यवस्था कायम राख्न स्थानीय प्रशासनले गोलबजारका साथै लहान नगरपालिका क्षेत्रमा समेत अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। झडपका क्रममा गम्भीर घाइते भएका औरही गाउँपालिका–२, तुलसीपुरका १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो। बिहीवार बिहानैदेखि तनावग्रस्त बनेको गोलबजारमा हुलदङ्गा नियन्त्रण गर्न र शान्ति कायम राख्न जिल्ला प्रशासन कार्यालय सिरहाले दिउँसो २ बजेदेखि लागू हुने गरी गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। यसैबिच, लहान नगरपालिका क्षेत्रमा पनि शान्ति भङ्ग हुने गरी हुलदङ्गा र प्रदर्शन हुन थालेपछि स्थिति नियन्त्रणमा लिन अपराह्न ४ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ। प्रशासनका अनुसार लहानस्थित पूर्व(पश्चिम राजमार्गको पूर्वमा बलान खोलादेखि पश्चिममा सरस्वती खोलासम्म र राजमार्गको उत्तर दक्षिण ५०० मिटर क्षेत्रभित्र कर्फ्यु आदेश लागू गरिएको छ। कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा आवतजावत, भेला, प्रदर्शन वा सभा जुलुस गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
धनुषामा कर्फ्यु
त्यस्तै,जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको बताउनुभयो ।
वीरगन्जमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने
सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन हुन थालेपपछि पर्साको वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, पर्साले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका छन्। वीरगन्जको पूर्वमा प्रतिमा चौक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चौध र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा जारी गरिएको हो।