मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा डिल्लीराम आचार्य चयन

हाम्रो पेज

३१ जेष्ठ २०८२, शनिबार २३:०३
विराटनगर, ३१ जेठ I मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा डिल्लीराम आचार्य  निर्विरोध निर्वाचित हुनुभएको छ I शनिवार सम्पन्न एशोसिएसनको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो I समितिको उपाध्यक्षमा मनोजबिक्रम शाह, सचिवमा जीवन पोखरेल, सहसचिवमा रुपेश बराल र कोषाध्यक्षमा रवि अग्रवाल चयन हुनुभएको छ I यस्तै सदस्यहरुमा उत्कृष्ट भट्टाराई, गंगाप्रसाद शर्मा, राजेशकुमार भगत, प्रतिक थापा, शशिमोहन सिन्हा, मनोजकुमार चौधरी र निशार अहमद चयन हुनुभएको छ I

यसअघि अधिवेशनको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले राज्यको कार्यसञ्चालन प्रणालीमा समस्या रहेको बताउनुभएको छ I उहाँले सरकारले राम्रै निति बनाएपनि त्यसलाई कार्यान्वयन तहमा लैजादा कर्मचारीतन्त्रबाट सृजना गरिने समस्याका कारण सर्वसाधारण र ब्यवसायीले समस्या भोग्नुपर्ने अवस्था रहेको बताउनुभयो । यद्यपी केन्द्र र प्रदेश सरकार यस्तो अवस्था सुर्धान लागि परेको उहाँको भनाई थियो । उहाँले राज्य रुपान्तरणको चरणमा रहेको बताउदै नीतिगत र कानुनी धेरै काम गर्न बाँकी रहेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा) का केन्द्रीय महासचिव सुरेन्द्रकुमार उप्रेतीले इमानदारीपूर्वक काम गर्ने व्यवसायीलाई राज्यले आवश्यक वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उहाँले ब्यवसायिहरुलेपनि गलत प्रवृत्ति पाल्नेहरुलाई जोगाउनु भन्दा सकारात्मक प्रतिस्पर्धामा लाग्नुपर्ने बताउनुभयो ।

मोरङ अटोमोवाईल डिलर एशोसिएसन मोरङका निवर्तमान अध्यक्ष संजयकुमार श्रेष्ठले अटोमोबाइल क्षेत्रले राज्यको राजस्वमा महत्वपूर्ण योगदान दिँदै आएको भएपनि त्यसअनुसारको सुविधा र सम्मान पाउन नसकेको गुनासो गर्नुभयो ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले अटोमोबाइल क्षेत्र धराशायी अवस्थामा रहेको भन्दै वर्गीय हितका निम्ति संघ अझ जिम्मेवाररुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले राज्यको नीति व्यवसायमैत्री नभएको आरोप लगाउँदै नीतिगत अन्योलताका कारण उद्योग व्यवसाय चौपट भएको र युवा शक्ति विदेशिन बाध्य भएको बताउनुभयो ।

मोरङ उद्योग व्वायापार संघका अध्यक्ष अनुपम राठीले पछिल्लो समय बिक्री हुने ७० प्रतिशत सवारीसाधन विद्युतीय रहेको भन्दै यसको पर्यावरणीय पक्षको प्रशंसा गर्नुभयो ।

जानकी अटोमोवाईल्स एशोसिएसन मधेश प्रदेशका अध्यक्ष केदार अग्रवालले सीमाक्षेत्रमा प्रहरी र भन्सारका कर्मचारीले दु:ख दिने गरेको गुनासो गर्नुभयो I

कार्यक्रममा अटोमोबाइल क्षेत्रको विकासमा योगदान पुर्याउने अग्रज सदस्य प्रेम खड्का र महेश भट्टराईलाई मन्त्री भण्डारीले सम्मान गर्नुभयो । त्यस्तै, ट्राफिक सेवा क्षेत्रमा योगदान पुर्याएको भन्दै मोरङ ट्राफिकका हवल्दार रामकुमार साह र जवान कमला कार्कीलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो ।