हाम्रो पेज
विराटनगर, २६ जेठ I भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको प्रेरणादायी प्रदर्शनमा पोर्चुगलले यूईएफए नेसन्स लिगको उपाधि जितेको छ । आइतबार राति जर्मनीको म्युनिखस्थित एलियन्ज रंगशालामा भएको रोमाञ्चक फाइनलमा साविक विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै पोर्चुगल दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि पोर्चुगलले सन् २०१९ मा पहिलो पटक यो उपाधि जितेको थियो ।
फाइनलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल २–२ को बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो । टाइब्रेकरमा पोर्चुगलकालागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डिस र रुबेन नेभेसले गोल गर्दा स्पेनका अल्भारो मोराटाको प्रहारलाई गोलकिपर डियगो कोस्टाले बचाएका थिए । स्पेनकालागि मिकेल मेरिनो, एलेक्स बाइना र इस्कोले मात्र गोल गर्न सके, जसले गर्दा स्पेन उपाधि रक्षा गर्नबाट चुक्यो । खेलअघि रोनाल्डो र स्पेनी युवा स्टार लामिन यमलको तुलना चलेको थियो, तर मैदानमा रोनाल्डोको अनुभव र पोर्चुगलको सामूहिक प्रदर्शन हावी भयो । यद्यपि, खेलमा पहिलो अग्रता स्पेनले २१ औं मिनेटमा मार्टिन जुबिमेन्डीको गोलबाट लिएको थियो । तर, त्यसको पाँच मिनेटमै उत्कृष्ट प्रदर्शन गरेका नुनो मेन्डिसले पोर्चुगललाई बराबरीमा फर्काए । पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा मिकेल ओयर्जबालले गोल गरेपछि स्पेनले २–१ को अग्रता बनायो । दोस्रो हाफमा पोर्चुगल खेलमा फर्कियो । ६१ औं मिनेटमा रोनाल्डोले आफ्नो कीर्तिमानी १३ औं अन्तर्राष्ट्रिय गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए । उनलाई गोलका लागि मेन्डिसले नै पास उपलब्ध गराएका थिए । खेलका नायक बनेका २२ वर्षीय लेफ्ट ब्याक मेन्डिस ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले गोल गर्ने, गोलमा सघाउने, यामललाई प्रभावहीन बनाउने र टाइब्रेकरमा समेत गोल गर्दै आफ्नो अलराउन्ड प्रदर्शन देखाए । यो जितसँगै पोर्चुगलका पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्ने मेन्डिस, गोन्सालो रामोस र भिटिन्हाले एक साताभित्रै सोही रंगशालामा दोस्रो ठूलो उपाधि जितेका छन् । यसअघि उनीहरूले च्याम्पियन्स लिगको उपाधि पनि यहीं उचालेका थिए । आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले आयोजक जर्मनीलाई २–० ले पराजित गर्यो ।