विराटनगर र झापाबाट ठूलो परिणामको खैरो हेरोइनसहित १० जना पक्राउ

हाम्रो पेज

९ भाद्र २०८२, सोमबार १२:५५

विराटनगर, ९ भाद्र । मोरङ र झापा जिल्लामा नेपाल प्रहरीले लागुऔषध खैरो हेरोइन विरुद्ध सञ्चालन गरेको विशेष कारबाहीमा ठूलो सफलता हात पारेको छ। दुई भारतीय नागरिकसहित कुल १० जनालाई प्रहरीले ठूलो परिमाणमा खैरो हेरोइनसहित पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक डीएसपी कोपिला चुँडालका अनुसार, नेपालमा लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा भारतको कटिहार जिल्लाका ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र ३२ वर्षीय बमकिम कर्मकारलाई विराटनगरबाट पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले आइतबार साँझ विराटनगर १५ स्थित मण्ठापोखरी मन्दिर अगाडि शंकास्पद अवस्थामा रहेका उनीहरूलाई नियन्त्रणमा लिएको थियो। खानतलासीका क्रममा मोहम्मद सद्दाम हुसेनले बोकेको झोलामा लुकाएर राखिएको अवस्थामा १४७ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी चुँडालले जानकारी दिनुभयो। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखी लागुऔषध ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ।
यसैगरी, झापा जिल्लाका विभिन्न स्थानबाट पनि प्रहरीले खैरो हेरोइनसहित ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिकाबाट २१ वर्षीय राज श्रेष्ठ, २३ वर्षीय अलताप सेख, १९ वर्षीय रमित राजवंशी, २९ वर्षीय सुमित पासी, धादिङका २४ वर्षीय गुम लामा र काठमाडौँका १९ वर्षीय न्यान्जी तामाङलाई २० ग्राम ४८० मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो। त्यस्तै, इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले झापाकै कनकाई नगरपालिकाबाट ३३ वर्षीय रमेश मुखिया सुनुवार र ४२ वर्षीय चन्द्र पौडेललाई ३५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ। पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन बमोजिम आवश्यक अनुसन्धान भइरहेको सम्बन्धित प्रहरी कार्यालयहरूले जनाएका छन्।