
विराटनगर, २७ पुष । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता,चर्चित गायक तथा नेपाली तथा भारतीय चलचित्रका अभिनेता प्रशान्त तामाङको हृदयघातका कारण ४२ वर्षको उमेरमा दिल्लीमा असामयिक निधन भएको हो । दिल्लीस्थित आफ्नै निवासमा अचानक हृदयघात भएपछि उहाँको निधन भएको संगीतकार राजेश घतानीले तामाङका परिवारलाई उदृत गर्दै पुष्टि गर्नभएको छ । उहाँको आइतबार निधन भएको तामाङकी श्रीमतीलाई उदृत गर्दै निर्माता राजेश वंशलले पुष्टि गर्नुभयो । ‘मेरो तीन दिन अघि पनि कुरा भएको थियो । आज अचानक निधनको कुरा सुन्दा पत्याउन सकिरहेको छैन’, निर्माता वंशलले भने ‘उहाँको घरका सदस्यलाई सोध्दा हृदयघात भएको बताउनु भयो ।’ इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत रहनु भएको थियो । जसको डबिङ समेत बाँकी रहेको छ । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतमा अभिनय गर्नुभएको छ । उहाँले थुप्रै चर्चित गीत दिनुभएको छ । इन्डियन आइडलका समयमा उहाँ भारतीय प्रहरीमा कार्यरत रहनु भएको थियो । उहाँ पछिल्लो समय दिल्लीमा बस्दै आएको बताइएको छ । तामाङकी श्रीमती र एक छोरी रहनु भएको छ । गायक तथा अभिनेता तामाङले २०७८ मा आमा र निकै वर्षअघि बुबा गुमाउनु भएको थियो ।