search logo
NOTIFICATIONS

त्रिशूली बाढीपीडितका लागि राठी कोलको ११ लाख सहयोग, ‘नेपाल अझै बलियो भएर उठ्नेछ’

हाम्रो पेज

१९ भाद्र २०८३, शुक्रबार १९:४९

विराटनगर १९ भाद्र । त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विराटनगरको राठीकोल परिवारले बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ११ लाख रुपैयाँ सहयोग गरेको छ। राठी एडहेसिभ प्रा. लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो। विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वासका साथ सहयोग गरिएको कम्पनीले जनाएको छ। बाढीबाट भएको जनधनको क्षतिले आफूहरू अत्यन्तै मर्माहत भएको उल्लेख गर्दै राठीकोल परिवारले यस दुःखद घडीमा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूसँग आफूहरू साथमा रहेको जनाएको छ। कम्पनी

ले विपत्ति जति नै ठूलो भए पनि नेपालीहरूको एकता, साहस र सहकार्य त्यसभन्दा बलियो हुने विश्वास व्यक्त गरेको छ। पीडाको यो कठिन समयमा प्रभावित समुदायसँग हातेमालो गर्नु आफ्नो सामाजिक दायित्व भएको राठी कोलका निर्देशक अरुणकुमार राठीले बताउनुभयो ।
राठीकोल लिमिटेडले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत देश तथा समाजको हितमा आवश्यक सहयोग र योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कम्पनीले राहत, उद्धार तथा पुनःस्थापनाका क्षेत्रमा आवश्यकताअनुसार सहयोग गर्ने जनाएको हो। यसैगरी, राठीकोलले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्को यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। “विपत्तिको अँध्यारोपछि नेपाल उठ्नेछ,अझै बलियो भएर उठ्नेछ,” भन्ने विश्वाससहित राठीकोल परिवारले बाढी प्रभावित नागरिकको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ।