झापाको रमा तिवारी हत्या प्रकरणमा १० दिनपछि भारतीय नागरिक पक्राउ

हाम्रो पेज

२२ जेष्ठ २०८३, शुक्रबार १६:५३

झापा २२, जेष्ठ । झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। शव फेला परेको करिब १० दिनपछि प्रहरीले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउँदै घटनाका मुख्य आरोपितलाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति दमक क्षेत्रमा मजदुरी गर्दै आएका ३० वर्षीय भारतीय नागरिक पण्डित थरका व्यक्ति हुन्। उनी दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानको काम गर्दै आएका थिए। प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय तथा घटनासम्बन्धी विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ। अनुसन्धानका क्रममा मृतक रमा तिवारी र आरोपितबीच पुरानै चिनजान रहेको खुलेको छ। उनीहरूबीच नियमित भेटघाट हुने गरेको र घटनाको दिन पनि सँगै रहेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार आर्थिक लेनदेन तथा व्यक्तिगत विवादका कारण उत्पन्न भएको झगडापछि आरोपितले तिवारीको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। हत्या पश्चात् घटनालाई लुकाउने उद्देश्यले आरोपितले शवलाई मोटरसाइकलमा राखेर दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रको रतुवा खोलाको पुलमुनि लगेर फालेको अनुसन्धानबाट खुलेको छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र पोको पारिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो। पछि शवको पहिचान रमा तिवारीका रूपमा भएपछि प्रहरीले मोबाइल विवरण, प्राविधिक विश्लेषण, स्थानीय सूचनालगायत विभिन्न प्रमाणका आधारमा अनुसन्धानलाई तीव्र बनाएको थियो।