हाम्रो पेज

चितवन, .७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले रास्वपा नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभएको छ । रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा नेकपा ९एमाले०का नेता प्रदीपकुमार ज्ञवालीले सरकारको सञ्चालनलाई गाडीको ब्रेक र एक्सिलेटरसँग तुलना गर्नुभएको प्रसङ्गलाई जोड्दै प्रधानमन्त्री शाहले सरकारको गति गन्तव्यमा पुगेर मात्र रोकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “गाडीमा ब्रेकको चिन्ता लोकल सडकमा हिँड्दा मात्र हुन्छ । हाम्रो गाडी कुनै लोकल सडकमा होइन, ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ, जुन गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ ।” उहाँले वर्तमान सरकारको यही कार्यकालभित्रै सुकुमवासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो । प्रधानमन्त्री शाहले सङ्घीय संसद् प्रतिनिधिसभामा आफैँले नेपाल–भारत सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिबारे चितवन पुगेर थप स्पष्टीकरण दिनुभएको छ । संसद्मा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस ९बेलायत०सँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “हामीसँग कालापानी र लिपुलेक नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ ।
तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौँ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका हैनौँ ।” उहाँले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफैँ संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शङ्का नगर्न आग्रह गर्नुभयो । महाधिवेशन प्रतिनिधिलाई निर्देशित गर्दै प्रधानमन्त्री शाहले महाधिवेशन अवधिभर दलको आन्तरिक सुदृढीकरणमा केन्द्रित हुन र त्यसपछि पाँच वर्ष देशको बृहत्तर हित र विकासका लागि सोच्न आग्रह गर्नुभयो । रास्वपाको एकल सरकार रहेकाले महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा चुनिए पनि वा नचुनिए पनि हरेक रास्वपाकर्मी आफैँमा प्रधानमन्त्री र मन्त्री सरह जिम्मेवार रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ यस्तो छ
नमस्कार नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ
राष्ट्रिय स्वतन्त्र पार्टीको यस ऐतिहासिक प्रथम महाधिवेशनमा उपस्थित पार्टीका सभापति रवि लामिछानेज्यू, विशेष अतिथिका रूपमा आउनुभएका पूर्वप्रधानमन्त्रीज्यू, प्रमुख प्रतिपक्षी दलका सभापतिज्यू तथा सम्पूर्ण विशिष्ट अतिथिहरू, पार्टीका पदाधिकारीहरू, मन्त्रीगण, सांसदज्यूहरू तथा उपस्थित सम्पूर्ण देशप्रेमी र राष्ट्रिय स्वतन्त्र पार्टीप्रेमी सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु।
कुरा कताबाट सुरु गरौँ ? आज खासमा यो महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने, पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा केन्द्रित हुनुपर्ने अवसर हो। एउटा सानो महत्त्वाकाङ्क्षा, सानो इच्छा र सानो देशलाई राम्रो बनाउने हुटहुटीबाट सुरु भएको यो पार्टी आज पहिलो महाधिवेशनसम्म आइपुग्दा आन्दोलनका रूपमा रहेको, भावनाका रूपमा रहेको पार्टीलाई संस्थागत र स्थापित गर्ने चरणमा पुगेको छ। त्यसैले हामीले धेरैजसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ।आज विभिन्न विशिष्ट अतिथिहरूले विभिन्न सल्लाह, शुभकामना र सुझाव दिनुभएको छ। चिन्ता पनि व्यक्त गर्नुभएको छ। सरकार भनेको गाडी जस्तै हो, गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ र ब्रेक पनि लगाउनुपर्छ भनेर चिन्ता व्यक्त गर्नुभएको छ।
त्यस्तो चिन्ता चाहिँ लोकल रोडमा हिँड्ने गाडीका लागि हुन सक्छ। त्यहाँ कहिले बायाँबाट गाडी आउँछ, कहिले दायाँबाट मान्छे आउँछन्। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, एक्सप्रेस–वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यमा पुग्नुअघि ब्रेक लगाउन जरुरी हुँदैन। र हाम्रो गाडी अनियन्त्रित पनि छैन। वातावरण पनि मिलेरै गएको छ। त्यसैले हाम्रो पार्टी र सरकारप्रति जुन चिन्ता व्यक्त गर्नुभएको छ, त्यसका लागि धेरै–धेरै धन्यवाद दिन चाहन्छु। चिन्ता लिनु राम्रो कुरा हो। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर पनि चिन्ता व्यक्त गरिएको छ। तर हामीले कुनै हावा चलाएका छैनौँ। हामीले बाढी ल्याएर खोला फर्काएका हौँ। र खोला एक चोटि आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ। यो हावा जस्तो कहिले बायाँ, कहिले दायाँ, कहिले उत्तर, दक्षिण, पूर्व वा पश्चिम बग्दैन।
त्यसैले चिन्ता लिनुहुनेहरूलाई फेरि पनि धेरै–धेरै धन्यवाद दिन चाहन्छु। यस्तै चिन्ता र मार्गदर्शन दिइराख्नुहोला।