
काठमाडौं, २५ भाद्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। बजारमा ग्यास अभाव र कालोबजारीका विषयमा उद्यमी–व्यवसायीप्रति कडा अभिव्यक्ति दिएपछि विवादमा पर्नुभएकी मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र बालेन शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटेर राजीनामा बुझाउनुभएको हो।
मन्त्री यादवले बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्यसम्बन्धी समितिको बैठकमा नेपालमा रहेका ग्यास उद्योगको संख्या र आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठाउँदै उद्योगी–व्यवसायीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो। उहाँले कर्मचारीबाट समेत अपेक्षित सहयोग नपाएको गुनासो गर्दै ग्यास आपूर्ति सहज बनाउन कडा कदम आवश्यक रहेको बताउनुभएको थियो। ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने उहाँको अभिव्यक्तिप्रति नेपाल उद्योग वाणिज्य महासंघ, ग्यास उद्योगी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले आपत्ति जनाएका थिए। महासंघले प्राकृतिक विपत्तिका कारण ग्यास ढुवानी प्रभावित भएको यथार्थलाई बेवास्ता गर्दै व्यवसायीलाई दोषी देखाउनु उचित नभएको जनाएको थियो।
पछिल्लो समय रसुवा क्षेत्रमा आएको बाढी तथा कृष्णभीरलगायतका क्षेत्रमा गएको पहिरोका कारण ग्यास ढुवानी तथा आयात प्रभावित भएको थियो। आपूर्ति व्यवस्थामा देखिएको समस्याका कारण उपभोक्ताले लामो समयदेखि ग्यासको अभाव झेल्दै आएका थिए। गत चैत २७ गते उद्योगमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएकी यादव यसअघि पनि केही विषयमा विवादमा पर्नुभएको थियो। पेट्रोलियम पदार्थको मूल्यसम्बन्धी सूचना चुहाएको आरोपलगायतका विषयमा उहाँमाथि प्रश्न उठेको थियो। यादवको राजीनामापछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने तयारी भएको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सुनसरी–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साहलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको हो। अब नयाँ मन्त्रीका रूपमा साहले उद्योग, व्यापार तथा आपूर्ति व्यवस्थापनका क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै निजी क्षेत्र र सरकारबीच सहकार्यको वातावरण निर्माण गर्नुपर्ने जिम्मेवारी पाउनुहुनेछ।