हाम्रो पेज
विराटनगर, १५ अषाढ। कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषधविरुद्धको कारबाहीलाई तीव्र पारेको छ। शनिबार एकैदिन झापा, मोरङ र सुनसरीबाट १२० किलोग्राम गाँजा र ठूलो परिमाणमा ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरिएको छ।
सबैभन्दा ठूलो सफलता सुनसरीमा मिलेको छ, जहाँ प्रहरीले कारभित्र लुकाएर लैजाँदै गरेको १२० किलोग्राम गाँजा बरामद गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा प्रहरी चौकी भरौलको टोलीले गरेको विशेष चेकजाँचका क्रममा प्रदेश १–०२–००१ ज ४६३७ नम्बरको कारबाट उक्त परिमाणको गाँजा बरामद भएको हो। गाँजासहित कार चालक मोरङ विराटनगर ४ का २६ वर्षीय धिरज गोसाई र कारमा सवार जहदा गाउँपालिका ७ का २२ वर्षीय विकास यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरी, प्रहरीले ब्राउन सुगरको कारोबारमा संलग्नहरूलाई पनि विभिन्न स्थानबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले रतुवामाई नगरपालिका-४ बाट ४१ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित ३५ वर्षीय रंजित शर्मा र ३० वर्षीय रोमबहादुर राजवंशीलाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो, काँकरभिट्टाको टोलीले कनकाई नगरपालिका ३ बाट २ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित २७ वर्षीय निर्मल विश्वकर्मा र मोरङको मिक्लाजुङका २० वर्षीय सिसिर लिम्बुलाई नियन्त्रणमा लिएको छ।
यस्तै लागूऔषध नियन्त्रण ब्यूरो, विराटनगर र इलाका प्रहरी कार्यालय, विराटचोकको टोलीले पनि मोरङका विभिन्न स्थानबाट नियन्त्रित औषधि र ब्राउन सुगरसहित थप ३ जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा ७ का २१ वर्षीय रोहित मगर ९२ ग्राम ४९ मिलिग्राम ब्राउन सुगरसहित, विराटनगर ११ का १९ वर्षीय निखिल मल्लिक ९७० ट्याब्लेट नाइट्राजेपामसहित र सुन्दरहरैंचा ९ का २७ वर्षीय अनिल कुमार ९० ट्याब्लेट ट्रामाडोलसहित पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा राखी लागूऔषध ऐनअनुसार थप अनुसन्धान अगाडि बढाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।