‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार’ सुदीप कोइरालालाई, मुख्यमन्त्रीद्वारा पत्रकारिताको भूमिकाको प्रशंसा

हाम्रो पेज

१३ श्रावण २०८२, मंगलवार १८:३९
विराटनगर, १३ श्रावण । विराटनगरका क्रियाशील पत्रकार सुदीप कोइरालालाई यस वर्षको प्रतिष्ठित ‘जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ। प्रेस चौतारी नेपाल, मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको एक गरिमामय समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोइरालालाई नगद १५ हजार ५५५ रुपैयाँ राशिको पुरस्कारसहित सम्मान गर्नुभयो। करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहनुभएका कोइराला हाल कोशी सन्देश डटकम अनलाइनका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिका कोषाध्यक्ष हुनुहुन्छ। उहाँ प्रेस चौतारी मोरङका पूर्वअध्यक्षसमेत हुनुहुन्छ। विक्रम संवत् २०६६ सालमा स्थापित यो पुरस्कार पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ। यो पुरस्कार यसअघि पत्रकारिता क्षेत्रका १६ जना विशिष्ट व्यक्तित्वहरूलाई प्रदान गरिसकिएको छ।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन र राष्ट्रिय आकांक्षा पूरा गर्न पत्रकारिता क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले भन्नुभयो, “लोकतन्त्रका लागि पत्रकारिता क्षेत्रले खेलेको भूमिका स्मरणीय छ। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न यो क्षेत्रले आफ्नो ठाउँबाट खेल्ने भूमिकामा हामी विश्वस्त छौं।” प्रदेश सरकारको कार्यसम्पादनबारे जानकारी दिँदै मुख्यमन्त्री कार्कीले गत आर्थिक वर्षमा चालु र पूँजीगत गरी करिब ८१ प्रतिशत बजेट खर्च गरेर कोशी प्रदेश सातवटै प्रदेशमध्ये पहिलो भएकोमा सम्पूर्ण नागरिकलाई बधाई दिनुभयो। उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्वका कारण गत वर्ष ४ अर्ब ९८ करोडको आन्तरिक राजस्व लक्ष्यको ९८ प्रतिशत संकलन गर्न सफल भयौं, जुन अघिल्लो वर्षभन्दा ७ दशमलव ५ प्रतिशतले बढी हो।” सुशासन र सञ्चार क्षेत्रको विकासप्रति प्रदेश सरकारको प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “सरकारका हकमा उठेका प्रश्नहरूलाई समय क्रममा समाधान गरिनेछ। बेरुजु घटाउने र सुशासनको प्रत्याभूति दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ।” उहाँले प्रदेश सञ्चार प्रतिष्ठान विधेयक संसदमा छलफलका क्रममा रहेको र छिट्टै पारित भई सञ्चारकर्मीको स्वास्थ्य बिमा तथा वृत्ति विकासमा योगदान पुग्ने विश्वास दिलाउनुभयो।