संसदमा रास्वपा र कांग्रेस सांसदबीच वाकयुद्धः व्यक्तिगत आरोप प्रत्यारोप

हाम्रो पेज

१५ असार २०८२, आईतवार १५:२०
काठमाडौं, १५ अषाढ । प्रतिनिधिसभाको आजको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच गम्भीर आरोप प्रत्यारोप र वाक्युद्ध चलेको छ, जसले गर्दा सदनको कारबाही तनावपूर्ण बन्यो। विवादको सुरुवात नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शनिबारको बैठकमा एक ट्राभल एजेन्सीबारे उठाएको प्रश्नबाट भएको थियो। खतिवडाले शनिबार सुमिरे ट्राभल्स नामक कम्पनीले जापानको भिजिट भिसामा पठाउने नाममा सर्वसाधारणसँग रकम असुली गरी अलपत्र पारेको विषयमा सदनको ध्यानाकर्षण गराउनु भएको थियो । उक्त ट्राभल एजेन्सी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डीपी अर्यालको स्वामित्वमा रहेको खुलेपछि आजको बैठकमा यस विषयले उग्ररूप लियो। बैठकको सुरुमै सभामुखसँग समय लिएर बोल्दै सांसद अर्यालले खतिवडाको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए र त्यसलाई संसदीय रेकर्डबाट हटाउन माग गर्नुभयो । आफ्नो बचाउ गर्ने क्रममा सांसद अर्यालले खतिवडाप्रति लक्षित गर्दै गम्भीर व्यक्तिगत आक्षेप लगाउनुभयो। उहाँले भन्नुभयो, म गर्वका साथ भन्छु, सुमिरे ट्राभल्स मेरो कम्पनी हो। म यही देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने होइन। उहाँले आफ्नो कम्पनीबाट कोही ठगिएको प्रमाण भए पेस गर्न चुनौती दिँदै खतिवडाको घडीको प्रसङ्गसमेत निकालेर व्यङ्ग्यात्मक टिप्पणी गर्नुभयो।
अर्यालले बोलिरहँदा कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका थिए। लगत्तै खतिवडाले पनि जवाफ दिँदै आफूले कसैको नाम नलिएको तर चोरको खुट्टा काट् भन्दा अघि सार्ने काम भएकोु भन्दै कटाक्ष गर्नुभयो । उहाँले अर्यालद्वारा लगाइएका व्यक्तिगत आक्षेप र अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गर्नुभयो । दुवै पक्षका सांसदहरूबीच तनाव बढेपछि सभामुख देवराज घिमिरेले हस्तक्षेप गर्दै सांसदहरूलाई जिम्मेवारीपूर्ण र मर्यादित अभिव्यक्ति दिन आग्रह गर्नभयो । उहाँले भन्नुभयो ,संसदीय अभ्यासअनुसार गैर संसदीय भाषा र व्यक्तिगत रूपमा किटेर बोलिएका कुरा रेकर्डबाट हटाउने परम्परा छ। सदस्यहरूले राष्ट्रको गरिमा बढाउने गरी बोल्नुपर्छ।
यसैबीच, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिनको माग गर्दै आइतबारको बैठक बहिष्कार गरेका छन्। उनीहरूले बैठक सुरु भएलगत्तै उठेर विरोध जनाए र आफ्ना धारणा राखेर सदनबाट बाहिरिए। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिपक्षी दलहरूले संसदको आकस्मिक समयको दुरुपयोग गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ,भिजिट भिसाका विषयमा सरकारले समिति बनाइसकेको अवस्थामा दैनिक रूपमा सदन अवरुद्ध गर्नु, गालीगलौज र व्यक्तिगत लाञ्छना लगाउनु संसदीय मर्यादाविपरीत छ। यस्ता अभिव्यक्ति दिने सांसदहरूलाई बोल्नबाट वञ्चित गर्नुपर्छ, अन्यथा सदन गालीगलौजमै सीमित हुनेछ।