हाम्रो पेज
विराटनगर, ३ अषाढ I स्कटल्यान्डमा जारी टी २० त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज मंगलबार घरेलु टोलीको सामना गर्दैछ। पहिलो खेलमा नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरको अविश्वसनीय र नाटकीय हार बेहोरेको नेपालका लागि यो खेल ‘गर या मर’ को स्थितिमा छ।
नेपाल र स्कटल्यान्ड १२ वर्षपछि टी २० फर्म्याटमा भिड्न लागेका हुन्, जसले खेललाई थप रोमाञ्चक बनाएको छ। नेपाली समयअनुसार साँझ ७ः४५ बजे हुने खेल जित्नैपर्ने दबाबमा नेपाल रहेको छ । सिरिजको आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गर्दै स्कटल्यान्ड उच्च मनोबलमा छ। अर्कोतर्फ, नेपाल पहिलो खेलमै स्तब्ध बनेकाले आजको खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्नुपर्ने ठूलो दबाब छ। नेपाल र स्कटल्यान्डबीच हालसम्म एक मात्र टी २० अन्तर्राष्ट्रिय खेल भएको छ। सन् २०१३ को नोभेम्बरमा भएको आईसीसी विश्वकप टी २० क्वालिफायरको उक्त खेलमा स्कटल्यान्डले नेपाललाई ८ विकेटले पराजित गरेको थियो। १२ वर्षपछि हुन लागेको यो भेटमा नेपाल त्यो हारको बदला लिँदै सिरिजमा आफ्नो सम्भावना जीवित राख्न चाहन्छ।
अविस्मरणीय हारः तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग चुक्यो नेपाल
यसअघि भएको सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग एक अविश्वसनीय र नाटकीय हार बेहोरेको थियो। टी २० क्रिकेटकै दुर्लभ मानिने तेस्रो सुपर ओभर सम्म पुगेको खेलमा नेपाल २ विकेटले पराजित हुन पुग्यो। निर्धारित ओभर नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएपछि खेल बराबरीमा सकियो र पहिलो सुपर ओभरमा गयो। पहिलो सुपर ओभरमा नेपालले १९ रन बनायो, तर करण केसीले २० रन दिएपछि खेल फेरि बराबरी भयो। दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले दिएको १८ रनको लक्ष्य नेपालले पनि बराबरी गरेपछि खेल तेस्रो सुपर ओभरमा धकेलियो। तेस्रो सुपर ओभर निर्णायक बन्यो, नेपालका ब्याटरहरू चल्न सकेनन् र १ रनको झिनो लक्ष्य दियो । जवाफमा सन्दीप लामिछानेको बलमा माइकल लेभिटले छक्का प्रहार गर्दै नेदरल्यान्ड्सलाई अविश्वसनीय जित दिलाए। यो ऐतिहासिक तर दुःखद हारले नेपाललाई आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्न थप दबाब सिर्जना गरेको छ।