अस्ट्रियामा विद्यालयमा गोली चल्दा ११ जनाको मृत्यु, देशमा तीनदिन राष्ट्रिय शोकको घोषणा

हाम्रो पेज

२८ जेष्ठ २०८२, बुधबार २१:१९
एजेन्सी, २८ जेठ I अस्ट्रियाको ग्राज शहरस्थित एक माध्यमिक विद्यालयमा मंगलबार एक युवकले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ । देशलाई नै स्तब्ध बनाउने यो घटनालाई इतिहासकै सबैभन्दा भयानक गोलीकाण्ड भनिएको छ। घटनापछि सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ।
स्थानीय समयअनुसार बिहान करिब १० बजे बर्ग ड्रायर्सुट्जेनगासे स्कुलमा प्रवेश गरेका २१ वर्षीय आर्टुर ए नामक युवकले दुईवटा कक्षाकोठामा पसेर निर्मम हत्याकाण्ड मच्चाएका थिए। सटगन र पेस्तोल बोकेका उनले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको घटनास्थलमै मृत्यु भयो भने एक जनाको उपचारका क्रममा अस्पतालमा ज्यान गयो। घटनामा धेरै विद्यार्थी घाइते भएका छन्।

गोलीकाण्डको सूचना पाउनासाथ तीनसय भन्दा बढी प्रहरी र आपतकालिन टोली घटनास्थलमा परिचालन गरिएको थियो। व्यापक खोजतलासका क्रममा आक्रमणकारी युवक शौचालयमा मृत फेला परेका थिए। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, उनले १० जनाको हत्या गरेपछि आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए। उनको साथबाट दुईवटा हतियार र आफ्ना अभिभावकलाई अलविदा लेखिएको एउटा पत्र बरामद भएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा उनी एक्लै संलग्न रहेको देखाएको छ। यद्यपि, आक्रमणको वास्तविक उद्देश्य अझै खुल्न सकेको छैन। केही स्थानीय सञ्चारमाध्यमले विद्यालयमा अध्ययन गर्दा उनीमाथि निरन्तर दुर्व्यवहार र हेला गरिएको हुन सक्ने आशंका गरेका छन्, तर प्रहरीले यसबारे आधिकारिक रूपमा अनुसन्धान जारी रहेको बताएको छ।

इतिहासकै कालो दिन
यस घटनाले अस्ट्रियालाई स्तब्ध बनाएको छ। अस्ट्रियाका चान्सलरले यस दिनलाई इतिहासकै कालो दिनको संज्ञा दिँदै बुधबारदेखि तीन दिनसम्म देशभर राष्ट्रिय शोक मनाउने घोषणा गर्नुभएको छ। जर्मन चान्सलर लगायत विश्वका अन्य नेताहरूले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै अस्ट्रियाली जनताप्रति समवेदना प्रकट गरेका छन्। यो गोलीकाण्ड अस्ट्रियाको आधुनिक इतिहासकै सबैभन्दा घातक मानिएको छ। यसअघि सन् २०२० मा भियनामा भएको जिहादी आक्रमणमा चार जनाको मृत्यु भएको थियो भने सन् १९९७ मा एक व्यक्तिले ६ जनाको हत्या गरेका थिए।