रौतहट जिल्लाको सदरमुकाम गौर अशान्त, अनिश्चितकालीन कर्फ्यू

हाम्रो पेज

१० फाल्गुन २०८२, आईतवार १३:३५

रौटहट,१० फाल्गुन । प्रतिनिधि सभा निर्वाचनको मुखमा मधेस प्रदेशको दक्षिणी भेगस्थित रौतहट जिल्लाको सदरमुकाम गौर अशान्त भएको छ। यही फागुन ७ गते राति गौर नगरपालिका ६, सवगढामा मस्जिदनजिक बिहेको बाजा बजाएको निहुँमा दुई सम्प्रदायबिच झडप भएपछि उक्त क्षेत्रमा सामाजिक सद्‌भाव खलबलिएको हो। त्यसयता त्यहाँ तोडफोड र आगजनी नरोकिएपछि स्थानीय प्रशासनले शनिबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको छ। गत बिहीबार राति बौधिमाई नगरपालिका ९ सरमुजवाबाट सत्यनारायण साहकी छोरीको विवाहको जन्ती गौर नगरपालिका ६ सवगढातर्फ जाने क्रममा मस्जिदनजिक बाजा बजाएको भन्दै मुस्लिम समुदायले विरोध गरेपछि हिन्दु समुदायका जन्तीसँग झडप भएको हो। झडपमा दुवै पक्षका गरी ६ जना घाइते भएका छन्। बिहीबार रातिको झडपमा सवगढाकी ४५ वर्षीया सदिया खातुन, ४१ वर्षीय भाग्यनारायण साह, २० वर्षीय रवि साह, २० वर्षीय धरमवीर साह, ४० वर्षीय किरीत साह र ४२ वर्षीय गजेन्द्र साह घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता विष्णु प्रदीप बस्यालका अनुसार सबैको टाउको वा खुट्टामा चोट लागेको छ। स्थानीय प्रशासनको पहलमा शुक्रबार साँझ दुई पक्षबिच ६ बुँदे सहमति गरिए पनि फेरि शनिबार बिहानदेखि ढुंगा हानाहान भएपछि गौर नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाउनुपरेको हो। त्यस दिन दुई पक्षबिच सामाजिक सद्‌भाव कायम गर्ने, संयमता अपनाउने र आउँदो २१ गते हुने निर्वाचन सफल पार्ने सहमति भए पनि पालना हुन नसकेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताउनुभयो । जिल्ला प्रहरी प्रवक्ता बस्यालका अनुसार सहमतिपश्चात् गौरको अवस्था सामान्य भइसकेको थियो। तर शनिबार बिहानै प्रहरीले केही व्यक्ति नियन्त्रणमा लिएपछि चाररपाँच सय जनाको भिड जम्मा भई पुनः झडप सुरु भएको थियो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि नेपाल प्रहरीका एसपी सीताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीको कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। यस क्रममा दर्जनौँ राउन्ड हवाई फायर र ४० राउन्ड अश्रुग्यास प्रहार गर्नु परेको थियो। घटनामा दुई प्रहरीसहित ८ जना घाइते भएको जिल्ला प्रहरी प्रवक्ता बस्यालले बताउनुभयो । यस क्रममा केही धार्मिक स्थलमा तोडफोड, ५ वटा मोटरसाइकल, २ वटा स्कुटर, १ वटा स्कार्पियो गाडी र एउटा ई(रिक्सामा आगजनी भएको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन गर्ने क्रम जारी रहेको उनले बताउनुभयो । कर्फ्यु क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको छ। घटना अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म २३ जनालाई नियन्त्रणमा लिएको छ। जसमा राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिसमेत छन्। प्रहरीले दंगा भड्काएको आरोपमा जनमत पार्टीका नेता शेख जमसेद र गौर वडा नम्बर ६ का अध्यक्ष अवधबिहारी तेलीलाई पनि नियन्त्रणमा लिएको हो। उनीहरूसहित २३ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।