हाम्रो पेज
खोटाङ १९ श्रावण । खोटाङको हलेसी मन्दिरमा ‘बोलबम’ मेला भरेर सिरहातर्फ फर्किरहेका तीर्थयात्रु चढेको माइक्रोबस आज बिहान दुर्घटना हुँदा एक जनाको दुःखद मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। यो दुर्घटनाले पवित्र तीर्थयात्राबाट घर फर्कंदै गरेको परिवारमाथि बज्रपात भएको छ। प्रहरीका अनुसार, प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माइक्रोबस मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी सडकखण्डको कदुवास्थित डौँठेखोला नजिकै बिहान करिब ९ बजे दुर्घटनामा परेको हो। प्रत्यक्षदर्शीहरूका अनुसार, अनियन्त्रित माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए। हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार, घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा पठाइएको थियो। प्रवक्ता गिरीले भन्नुभयो , घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर देखिएकाले सघन उपचारका लागि नगरपालिकाको एम्बुलेन्समार्फत काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ। घुर्मीमा उपचाररत अन्य आठ जनाको अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीले जनाएका छन्। दुर्घटनाग्रस्त माइक्रोबसमा चालकसहित १६ जना यात्रु सवार रहेको खुलेको छ। प्रवक्ता गिरीले दुर्घटनास्थलमा घना बुट्यान र झाडी भएका कारण माइक्रोबस तल खस्ने क्रममा अड्किएको र यसले ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताउनुभयो । विश्वप्रसिद्ध त्रिधार्मिक स्थल हिन्दू, बौद्ध र किरात हलेसीमा साउन महिनाभर लाग्ने ‘बोलबम’ मेलाका लागि दर्शनार्थीहरू निजी तथा भाडाका सवारी रिजर्भ गरेर आउने गर्दछन्। दुर्घटनामा परेका यात्रुहरू पनि सोही मेला भरेर फर्कंदै थिए। जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र मृतक तथा घाइतेहरूको पूर्ण पहिचान खुलाउने प्रयास जारी रहेको जानकारी दिनुभयो ।