search logo
NOTIFICATIONS

 रास्वपा सभापति लामिछाने ५ दिने भ्रमणका लागि भारत प्रस्थान

हाम्रो पेज

१८ जेष्ठ २०८३, सोमबार १२:००

काठमाडौँ, १८जेष्ठ । । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सोमबार भारत भ्रमणमा जानु भएको छ । भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछानेले जेठ १८ देखि २२ गते जुन १ देखि ५ तारिख सम्म भारत भ्रमण गर्नुहुने रास्वपाले जनाएको छ । सभापति लामिछाने आज मध्यान्न नेपाल एयरलाइन्सको विमानबाट दिल्ली प्रस्तान गर्नुभएको सचिवालयले जानकारी दिएको छ। लामिछानेले विमानस्थलमा संचारकर्मीमाझ फर्किएपछि संवाद गर्ने बताउनु भएको छ । पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ । उहाँले भाजपा नेतृत्वसँग समेत भेटघाट तथा छलफल गर्नुहुने जनाइएको छ । भ्रमणका अवसरमा भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग पनि उहाँले भेटघाट गर्नुहुने छ । साथै अयोध्याको भ्रमणका समेत कार्यक्रम रहेको जनाइएको छ । सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनुहुने छ । रास्वपाका प्रवक्ता मनीष झाले जारी गर्नुभएको विज्ञप्ति अनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ । रास्वपाले उक्त भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबिचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ । यसैविच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफ्नो प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै मूल आयोजक समिति गठन गरेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा गठन गरिएको समितिले आगामी महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र सङ्गठनात्मक रूपमा सुदृढ बनाउने लक्ष्य लिएको छ । पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन २०८३ असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय भएको छ । महाधिवेशनलाई सफल बनाउन गठन गरिएको मूल आयोजक समितिमा वरिष्ठ नेतादेखि केन्द्रीय सदस्य र प्रदेश सभापतिसम्म समेटिएका छन् । सभापति लामिछानेको अध्यक्षतामा गठन गरिएको महाधिवेशन मूल आयोजक समिति सदस्यहरूमा उपसभापति डा। स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, मनीष झा, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाललगायत नेता रहनुभएको छ । पार्टीका सबै केन्द्रीय समिति सदस्य तथा प्रदेश सभापतिहरूलाई पनि महाधिवेशन तयारी प्रक्रियामा संलग्न गराइएको छ । यसैबिच पार्टी सचिवालय बैठकले पनि सङ्गठन विस्तार र महाधिवेशन तयारीलाई मुख्य कार्यसूची बनाएर विस्तृत छलफल गरेको थियो । बैठकमा समसामयिक राजनीतिक अवस्था, सङ्गठन सुदृढीकरण तथा पार्टीका पछिल्ला गतिविधिबारे समीक्षा गरिएको थियो । बैठकमा अनुशासन आयोग, निर्वाचन आयोग तथा विभिन्न विभागको मनोनयन, सम्भावित कारबाहीका विषय, प्रदेश अधिवेशन सञ्चालन कार्यविधि र महाधिवेशनसँग सम्बन्धित संरचनागत तयारीबारे छलफल भएको बताइएको छ ।