हाम्रो पेज

काठमाडौं, २४ श्रावण । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज आइतबार जनाए अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। गण्डकी प्रदेशका केही स्थान तथा कोसी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू(भागका केही स्थानमा मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही र मधेस साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको पहाडी भूभाग र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा वर्षारहिमपातको सम्भावना छ। पहाडी र तराई भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै कर्णाली प्रदेशका पहाडी भूभाग तथा सूदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। काठमाडौँ उपत्यकामा पनि आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज काठमाडौँ उपत्यकामा मौसम खुल्ने सम्भावना कम नै छ। ‘केही बेर मौसम खुलेजस्तो भए पनि फेरि बादल लागिहाल्ने देखिन्छ ।
यी जिल्लामा बाढीको सम्भावना
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँसहित देशका ३५ जिल्ला र आसपासका ससाना नदीहरूमा आकस्मिक बाढी आउने र जोखिम हुने सम्भावना छ। बाढी महाशाखाले बुलेटिन जारी गरी भनेको छ, ‘आज झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, बागलुङ, म्याग्दी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बर्दिया, कैलाली, बझाङ, दार्चुला, बैतडी र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहानसम्म अवरुद्ध रहेका सडकको विवरणअनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक, रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ । काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ः०० देखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ः०० देखि बेलुका ६ः०० बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
यसैगरी, मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका ५ः०० देखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने रहेको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं २ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नाका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । जिरोकिलोमा पहिरो र लिपिङमा सडक भासिएपछि यातायात अवरुद्ध भएको हो । यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोला नजिक मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।