
काठमाडौं,३० कार्तिक । आगामी फागुन २१ गते निर्वाचन हुन गइरहेको पृष्ठभूमिमा नयाँ राजनीतिक दल दर्ता प्रयोजनका लागि निर्वाचन आयोगले दिएको समय आज आइबतार सकिँदै छ । अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले कार्तिक मसान्तसम्म नयाँ दल दर्ता गर्न समय दिएको थियो । आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि पुनःदल दर्ता गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १० सम्म राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर ७ गतेसम्म दल दर्ता गर्न आयोगले आह्वान गरेको छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो । आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ । शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए । जसमध्ये हालसम्म पाँच नयाँ दलले दर्ताको प्रमाणपत्र लिएका छन् । श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलको मान्यता पाएका छन् । यस्तै १० वाम दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले पनि दल दर्ताको प्रमाणपत्र लिइसकेको छ । यस्तै रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल दर्ता भएको छ । यस्तै निर्वाचन घोषणापछि दुई राजनीतिक दलबाट विभाजित भएर दुई नयाँ दल थपिएका छन् । जनमत पार्टीबाट विभाजन भएर जनस्वराज पार्टी गठन भएको छ । त्यस्तै, नेपाल जनमुक्ति पार्टीबाट विभाजन भएर गठन गरिएको राष्ट्रिय जनमुक्ति पार्टी पनि आयोगमा सूचीकृत भइसकेको छ । योसँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको छ । हिजो शनिबार भएकाले आज बाँकी दलले दर्ताका लागि प्रक्रिया पूरा गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थपे पनि दल दर्ता गराउने मिति भने यथावत् राखेको छ । मतदाता नामावलीमा नाम दर्ता गर्नेको भिड लागे पछि शनिबार पनि बायोमेट्रिक गरिएको थियो ।
