रहस्यकै गर्भमा रहेको दरबार हत्याकाण्डको २४ वर्ष

हाम्रो पेज

१९ जेष्ठ २०८२, सोमबार १६:२७
विराटनगर, १९ जेठ । तत्कालिन राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २४ वर्ष पूरा भएको छ ।

१९ जेठ २०५८ मा राति भएको त्रासदीपूर्ण दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसहित राजदरबारका १० जना सदस्य मारिएका थिए । दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भए पनि अझै नेपाली जनताले पत्याउने गरी छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारले सकेको छैन । नारायणहिटी दरबार हत्याकाण्ड भएलगत्तै तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा छानबिन समिति गठन भएर प्रतिवेदन सार्वजनिक भएको थियो । सो प्रतिवेदनमा तत्कालीन युवराज दीपेन्द्रले हत्याकाण्ड मच्चाएको उल्लेख गरिएको छ । जसलाई नेपाली जनताले अझै पनि बिश्वास गरेका छैनन् । दरबारभित्र जीवित सदस्यसँगको सोधपुछका आधारमा प्रतिवेदन तयार पारिएको थियो । सो हत्याकाण्डमा वीरेन्द्रको वंश विनाश भएको थियो भने ज्ञानेन्द्र पत्नी कोमललाई गोली लागेको थियो ।

कसको कहिले मृत्यु भएको थियो ?
१) जेठ १९ गते राजा वीरेन्द्र शाहलाई राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
२) रानी ऐश्वर्य पनि राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
३) अधिराजकुमार नीराजन राति ९ः१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्यायाउँदा मृत घोषित ।
४) अधिराजकुमारी श्रुति राति ९ः२० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र ९ः५५ बजे अस्पतालमा मृत घोषित ।
५) अधिराजकुमारी शान्ति राज्यलक्ष्मीदेवी सिंह राति ९ः३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
६) अधिराजकुमारी शारदा राज्यलक्ष्मीदेवी शाह राति ९ः३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
७) कुमार खड्गविक्रम शाह राति ९ः३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
८) शाहजादी जयन्ती राज्यलक्ष्मी शाह राति ९ः३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याउँदा मृत घोषित ।
९) युवराजाधिराज दीपेन्द्र वीरविक्रम शाह २०५८ जेठ१९ राति ९ः२४ बजे वीरेन्द्र सैनिक पुर्याएको र २०५८जेठ २२ गते सोही अस्पतालमा बिहान ३ः४५ बजे मृत घोषित ।
१० ) धीरेन्द्र शाह २०५८जेठ १९ राति ९ः२४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्याएको र २०५८जेठ २२ गते बेलुकी ५ः५७ बजे सोही अस्पतालमा मृत घोषित ।

गणतन्त्र आए पनि हरेकजसो प्रधानमन्त्रीले दरबार हत्याकाण्डको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने बताए पनि हालसम्म कसैले त्यसमा चासो दिएका छैनन् । दरबार हत्याकाण्डका बेला प्रधानमन्त्री रहनु भएका गिरिजाप्रसाद कोइरालाले त्यसलाई ग्राइन्ड डिजाइनको संज्ञा दिनु भएको थियो । तर, यसबारे थप केही खुलासा नहुँदै उहाँको निधन भयो । हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको ‘अति सुरक्षित’ स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन। यद्यपि, त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गर्नुभएको थियो । सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो। यद्यपि, नेपालले सो समितिबाट राजीनामा दिनु भएको थियो । बाँकी दुई सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो। २६ गतेदेखि काम सुरु गरेको समितिलाई सुरुमा काम सुरु गरेको मितिले ३ दिन समय दिइएको थियो। पछि फेरि चार दिन थपिएको थियो। समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्याङ्कहरुको प्रस्तुति थियो। र, तेस्रो भागमा घटनाको यथार्थ विवरण उल्लेख थियो। तर समितिको प्रतिवेदनले आम स्वीकार्यता पाउन सकेन। अहिले पनि सो घटनालाई षड्यन्त्रको विभिन्न आयामको प्रतिफल मान्ने मानिसहरू प्रशस्तै छन्।
केही दिन अघि मात्रै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रप्रति लक्षित गर्दै भाइमारासम्मको टिप्पणी गर्नुभएको छ । गएको चैत १ गते सिन्धुपाल्चोकको मेलम्चीमा पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ढले भन्नुभएको थियो , ’२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पु¥याए भन्ने नेपाली जनताले बिर्सिएको छ? मूर्ति चोर को हुन?,’ उहाँले भन्नुभयो, ’नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा? भाइमारा को हो? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ? सुन तस्कर को हो? नेपाली जनताले बिर्सिएको भन्ठानेको?’ दाहालले आफू पहिलोपटक प्रधानमन्त्री हुँदैमा दरबार हत्याकाण्ड छानबिन गर्न खोजेको तर कार्यकाल पूरा नहुँदा छानबिन प्रभावित भएको दाबी पनि गर्नुभएको थियो । ’मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ,’ उहाँले भन्नुभयो , ’मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो।’ उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन हुनुभयो । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/०६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बन्नुभयो। २०७२ मा नेपालको गणतान्त्रिक संविधान जारी भएसँगै राजसंस्था संवैधानिक रुपमा इतिहासमा परिणत भयो । तर गणतन्त्रको १७ वर्षपछि राजावादीहरु फेरि नेपालमा राजसंस्थाको माग गर्दै सडक संघर्षमा उत्रिएका छन् ।