search logo
NOTIFICATIONS

इन्डोनेसियामा पानीजहाजमा भीषण आगलागीः ३ को मृत्यु, ५६८ जनाको सफल उद्धार

हाम्रो पेज

५ श्रावण २०८२, सोमबार १४:०५
एजेन्सी , ५ श्रावण। इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा एक यात्रुवाहक पानीजहाजमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने ५६८ जनाको सफल उद्धार गरिएको छ। क्षमताभन्दा दोब्बर यात्रु बोकेको उक्त जहाजमा भएको दुर्घटनाले इन्डोनेसियाको समुद्री सुरक्षामाथि पुनः गम्भीर प्रश्न उठाएको छ। आइतबार दिउँसो उत्तरी सुलावेसीको तालिस टापुनजिकै केएम बार्सिलोना ५ नामक जहाज मानाडो बन्दरगाहतर्फ जाँदै गर्दा आगलागी भएको थियो। मानाडो नौसेना बेसका प्रमुख, फर्स्ट एडमिरल फ्र्यान्की पासुना सिहोम्बिङले अन्तराष्ट्रिय संचारमाध्यामहरुलाई बताए अनुसार, जहाजको पछाडिको भागबाट अचानक आगो सल्केको थियो। आगलागीपछि यात्रुहरूमाझ भागाभाग मच्चिएको र धेरैले आफ्नो ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए। घटनालगत्तै तटरक्षक, उद्धार जहाज र स्थानीय माझीहरूका डुङ्गासहितको टोली उद्धारमा खटिएको थियो। उद्धारकर्मीहरूले समुद्रमा हाम फालेका र लाइफ ज्याकेटको सहायतामा तैरिरहेका यात्रुहरूलाई उद्धार गरी नजिकैका टापुहरूमा पुर्‍याएका थिए। सिहोम्बिङका अनुसार, करिब एक घण्टाभित्रै जहाजमा लागेको आगो नियन्त्रणमा लिइएको थियो। दुर्घटनाको सबैभन्दा चिन्ताजनक पक्ष जहाजमा सवार यात्रुको सङ्ख्या हो। आधिकारिक कागजात म्यानिफेस्टमा २८० यात्रु र १५ जना चालक दलका सदस्य मात्रै उल्लेख थियो। तर, उद्धार टोलीले ५६८ जनाको उद्धार गरेको छ, जुन आधिकारिक सङ्ख्याभन्दा झण्डै दोब्बर हो। यस दुर्घटनामा एक गर्भवती महिलासहित तीन जनाको शव फेला परेको छ। सुरुमा मृतकको सङ्ख्या पाँच बताइए पनि उद्धार एजेन्सीले सोमबार त्यसलाई सच्याएर तीन कायम गरेको हो। हालसम्म कोही पनि हराएको रिपोर्ट नआए पनि खोजी तथा उद्धार कार्य जारी राखिएको छ।
१७,००० भन्दा बढी टापुहरू भएको देश इन्डोनेसियामा डुङ्गा र पानीजहाज यात्राको मुख्य माध्यम हो। तर, कमजोर सुरक्षा मापदण्ड, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र नियमनको अभावका कारण यहाँ बारम्बार यस्ता घातक दुर्घटनाहरू हुने गरेका छन्।