युवालाई ओलीको सुझावः सभ्य हुनुस्, नेपाल बदनाम भयो, निशानामा बालेन

हाम्रो पेज

७ आश्विन २०८२, मंगलवार १८:५३

काठमाडौं, ७ आश्विन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार योजनाबद्ध रूपमा जलाएको दाबी गर्नुभएको छ । मंगलबार गुण्डुस्थित निवासमा भेट्न पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सिंहदरबार जलाउने योजनामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन संलग्न भएको आशय व्यक्त गर्नुभयो । जेन–जी आन्दोलनपछि पहिलो पटक कार्यकर्तामाझ देखिनु भएका ओलीको सम्बोधन एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले फेसबुकमा राखिएको छ ।
‘यो देश हाम्रो हो, हामीले बनाउने हो भन्ने भावना राख्नुपर्दछ। अहिले अरूको उच्चालाईमा गएर कसले जलायो ? थाहा छैन। सिंहदरबार जलाइयो,’ ओलीले भन्नु भएको छ ‘कसले जलायो ?देशलाई माया गर्ने मान्छेले, इतिहासलाई माया गर्ने मान्छेले, सिंहदरबार जलायो होला र ? पक्कै जलाएन।’ अरू नै कुनै घुस पैठिया तत्त्वहरूले नै सिंहदरबार जलाएको उहाँले बताउनुभयो । ‘जो पहिलेदेखि नै भन्दै थिए, सिंहदरबार जलाउँछु,’ ओलीले अगाडि भन्नुभएको छ । उहाँको यो अभिव्यक्ति सिधै बालेन लक्षित छ। बालेनले नै कुनै समय ‘सिंहदरबार जलाउने’ अभिव्यक्ति फेसबुकमा पोस्ट्याउनु भएको थियो। यस्तै संसद् भवन जलाउन धेरै पटक हमला भएको पनि ओलीले दाबी गर्नुभएको छ । ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रहाल संसद् भवन तिर हमला गरेको थोरै पल्ट त भएन, धेरै पल्ट भइसक्यो। अथवा यो एउटा उनीहरूको योजनाबद्ध काम हो। यस्तो कुरा हामीले बुझ्नुपर्दछ,’ ओलीले भन्नुभएको छ ।
अहिले बादल लाग्यो भन्दैमा बादल हट्दैन भन्ने नभएको उहाँले बताउनुभयो। ‘फेरि बादल लाग्यो भन्दैमा हट्दैन भन्ने छैन, साँझ प¥यो भन्दैमा भोलि बिहान उज्यालो हुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ। उज्यालो हुन्छ,’ ओलीले भन्नुभयो। ओलीले देश बनाउने कर्मठ युवाहरु जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बता उनु भएको छ । ओलीले भन्नुभयो , “हामीले समाजलाई सुसंस्कृत, सभ्य र विकसित बनाउन लाग्नुपर्छ । असभ्य र गैह्रजिम्मेवार हुनु हुँदैन । देश र समाजप्रतिको कर्तव्य बुझेर युवाहरुले काम गर्नुपर्छ । युवाहरु हावामा कुद्न हुँदैन ।” उहाँले जेनजी प्रदर्शनका क्रममा देशले ठूलो क्षति व्यहोर्नुपरेकामा चिन्ता व्यक्त गर्दै नेपाल र नेपालीलाई माया गर्नेले त्यसरी आगजनी, तोडफोड र लुटपाट गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो । ‘युवाहरूलाई देशभक्त युवा बनाउनुपर्छ। देशलाई माया गर्ने, जनतालाई माया गर्ने, त्यस्ता युवाहरूको पङ्ति तयार गर्नुपर्छ,’ ओलीले भन्नुभयो, ‘नयाँ पुस्ता देशप्रति अत्यन्त जिम्मेवार, समाजप्रति जिम्मेवार, यस्तो पुस्ता हुनुपर्छ। हामी आफू कर्मठ देश बनाउने नागरिकका रूपमा हुनुपर्छ।’ असभ्य हुनु, अराजक हुनु, गैह्र जिम्मेवार हुनु युवापन नभएको पनि उनले बताए। ‘त्यस कारण साथीहरूलाई हावामा उड्न होइन, आफ्नो कर्तव्य के होरु देशप्रतिको कर्तव्य के होरु समाजप्रतिको कर्तव्य के हो ? परिवार, साथीभाइप्रतिको कर्तव्य के होरु जानकार हुनुपर्दछ,’ ओलीले भन्नुभयो । युवा पुस्ता सभ्य, सुसंस्कृत हुनुपर्ने पनि उहाँले बताउनुभयो।

आन्दोलनका क्रममा ओलीको निजी घर समेत जलाइएपछि उहाँ भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आउनु भएको छ । भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिनु भएका ओलीलाई सोही दिनदेखि करिब एक साता नेपाली सेनाको सुरक्षामा बस्नु भएको थियो । जेनजी आन्दोलनपछि एमालेभित्र समेत पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको चर्को बहस भइरहेको छ । तर, अध्यक्ष ओली त्यो बहसलाई स्विकार्न तयार देखिनु भएको छैन् । जेनजी आन्दोलनमा ओलीकै हठकै कारण ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै आलोचना भइरहेका बेला उहाँ यसप्रति कुनै क्षमायाचना गर्नुभएको छैन् । यसको साटो विदेशी षड्यन्त्रका रुपमा यसलाई ब्याख्या गर्नुभएको छ ।