
काठमाडौं, २२ मंसिर । भारतको गोवास्थिति एक नाइट क्ल्वमा गत शनिबार मध्यरात भएको आगलागीमा मारिनेमध्ये चार जना नेपाली भएको खुलेको छ। आगलागीमा २५ जनाको मृत्यु भएको थियो । भारतीय अधिकारीका अनुसार मारिनेमध्ये २० जना नाइट क्लवकै कर्मचारी र ५ जना पर्यटक हुन् । कर्मचारीमध्ये तीनजना नेपालका भएको अधिकारीहरुले बताएका छन् । भारतीय सञ्चारमाध्यमले मारिने २५ जनाको नाम सार्वजनिक गरेका छन् । उनीहरुमध्ये नेपालका चुर्नबहादुर पुन, विवेक कटवाल, सविन थर नखुलेको र सुदीप थर नखुलेको नागरिक नेपालका हुन् । नेपालीहरुको पुरा ठेगाना खुलाइएको छैन । गोवाको बिर्च एन्ड रोमियो नाइट क्लवमा १०० जनाजति मानिसहरु डान्स गरिरहेका बेला अचानक आगलागी भएको थियो ।
“गोवाको नाइटक्लबमा आगलागी हुँदा त्यहाँ कार्यरत चारजना नेपालीको मृत्यु भएको छ,” भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुरेन्द्र थापाले पुष्टि गर्नुभएको छ । “मृतकको शव स्थानीय अस्पतालमा रहेको छ । पोस्टमार्टम रिपोर्ट आएपछि शव सम्बन्धित परिवारलाई बुझाउने काम हुन्छ,” उपनियोग प्रमुख थापाले बताउनु भएको छ । मृत्यु हुने नेपाली कसैको परिवार पनि दूतावासको सम्पर्कमा आएका छैनन् । शव परिवारलाई हस्तान्तरण गरेपछि क्षतिपूर्ति उपलब्ध गराउने विषयमा प्रक्रिया अघि बढाइने दूतावासले जनाएको छ ।