
विराटनगर,२ भाद्र । कोशी प्रदेश सरकारले नागरिकको आयुर्वेद स्वास्थ्य सेवामा पहुँचलाई सहज र प्रभावकारी बनाउन एक महत्वपूर्ण कदम चालेको छ । प्रदेशले ऐतिहासिक ‘सरकार–देखि–सरकार’ प्रक्रियामार्फत सिंहदरबार वैद्यखाना विकास समितिसँग सोझै २३ प्रकारका औषधि खरिद गर्ने औपचारिक सम्झौता गरेको हो । यो सम्झौताले नागरिकलाई गुणस्तरीय र निःशुल्क आयुर्वेद औषधि समयमै उपलब्ध गराउने मार्ग प्रशस्त गरेको छ । सोमबार प्रदेश स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रदेश सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा. राधिका थपलिया र सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता कार्यक्रममा बोल्दै प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले सरकारको काम कारबाहीमा पारदर्शिता ल्याउन र नागरिकलाई सहज सेवा प्रदान गर्न यो सम्झौता गरिएको बताउनुभयो । उहाँका अनुसार, विगतमा प्रदेश आपूर्ति केन्द्रमार्फत मात्र औषधि खरिद गर्दा हुने ढिलासुस्तीलाई अन्त्य गर्न गत वर्षदेखि नै जिल्लास्तरमै औषधि खरिद प्रक्रिया अघि बढाइएको थियो । ूयो सम्झौताले नागरिकले स्वास्थ्य सुविधा सहजै पाउनेछन् र औषधि अभावको समस्या सदाका लागि हट्ने प्रदेश सरकारको पूर्ण विश्वास छ, मन्त्री राईले भन्नुभयो । स्वास्थ्य मन्त्रालयकी सचिव डा थपलियाले सम्झौता अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र संघीय ससर्त अनुदान समेत गरी कुल २ करोड २० लाख रुपैयाँ बराबरको औषधि खरिद गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सरकारी निकाय वैद्यखानाबाटै औषधि खरिद गर्नुको मुख्य उद्देश्य नागरिकलाई गुणस्तरीय औषधिको आपूर्ति सुनिश्चित गर्नु हो । सम्झौता अनुसार, अब जिल्लास्तरका स्वास्थ्य संस्थाहरूले आफ्नो आवश्यकता अनुसार सोझै माग गर्न सक्नेछन्, जसले गर्दा तत्काल आवश्यक औषधि स्थानीय स्तरबाटै वितरण गर्न सकिनेछ । सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक केसीले यस सम्झौतालाई वैद्यखानाको इतिहासमा एक नयाँ अध्यायको सुरुवातको रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार, वैद्यखानाले अहिलेसम्म कुनै पनि सरकारसँग सिधै औषधि बिक्रीका लागि यस्तो सम्झौता गरेको थिएन । उहाँले दोस्रो विश्वयुद्धका क्रममा नेपाली सैनिकले प्रयोग गरेका एन्टिसेप्टिक औषधि समेत वैद्यखानामै उत्पादन भएको गौरवपूर्ण इतिहास स्मरण गराउँदै भन्नुभयो, गुणस्तरीय औषधि आपूर्ति सुनिश्चित गर्न प्रदेशसँग सहकार्य गरी यो नयाँ कामको थालनी गरिएको छ । हाल वैद्यखानाले ५४ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।कोशी प्रदेश सरकारले पहिलो त्रैमासभित्रै औषधि खरिद प्रक्रिया सुरु गरी दोस्रो त्रैमासभित्र जिल्ला–जिल्लामा पुर्याउने लक्ष्य राखेको छ ।
