
एजेन्सी, ५ भाद्र । आफ्नो कठोर आप्रवासन नीतिका लागि परिचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अब कानुनी रूपमा भिसा प्राप्त गरी बसेका विदेशीहरूमाथि पनि निगरानी बढाउने भएको छ। अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल भिसावाहक रहेका करिब ५ करोड ५० लाख विदेशी नागरिकहरूको विस्तृत छानबिन सुरु गर्ने घोषणा गरेको हो। विज्ञप्तिअनुसार, यो कदमको मुख्य उद्देश्य भिसाको अवधिभन्दा बढी समय बसेका, वा भिसा प्राप्त गरिसकेपछि आतङ्कवाद वा अन्य आपराधिक गतिविधिमा संलग्न भएका व्यक्तिहरूलाई पहिचान गरी देश निकाला गर्नु हो। छानबिनका क्रममा प्रहरी, प्रशासन, र अध्यागमनका पुराना अभिलेखका साथै भिसा जारी भएपछि प्रकाशमा आएका कुनै पनि नयाँ जानकारीको समेत सुक्ष्म समीक्षा गरिने मन्त्रालयले जनाएको छ। आफ्नो कार्यकालको सुरुदेखि नै अवैध आप्रवासीमाथि कडा रूपमा प्रस्तुत भएको ट्रम्प प्रशासनले अब कानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका विदेशीहरूलाई समेत आफ्नो नीतिको दायरामा ल्याएको छ। यसले अमेरिकामा रहेका लाखौं विद्यार्थी, कामदार र पर्यटकहरूमाथि समेत सरकारी निगरानी बढ्ने देखिएको छ। अमेरिकाले सामान्यतया एक आर्थिक वर्षमा स्थायी बसोबास ग्रिन कार्ड बाहेक करिब १ करोड १० लाख अस्थायी भिसा जारी गर्दछ। जसमध्ये करिब ७७ प्रतिशत व्यापार वा पर्यटन, र करिब ७ प्रतिशत विद्यार्थी तथा उनीहरूका परिवारका लागि हुन्छन्। कतिपय भिसाहरू वर्षौंसम्म वैध रहने हुँदा यति ठूलो संख्यामा मानिसहरूको अभिलेख छानबिन गर्नु अत्यन्तै समय लाग्ने र खर्चिलो प्रक्रिया हुनेछ। ट्रम्प प्रशासनले यसअघि नै भिसा आवेदकहरूको सामाजिक सञ्जाल गतिविधिमाथि निगरानी बढाएको थियो, विशेषगरी अमेरिका वा इजरायल विरोधी अभिव्यक्तिहरूमाथि कडा नजर राखिएको थियो। पछिल्लो निर्णयले आप्रवासीबारे सूचना सङ्कलन गर्ने क्रमलाई थप तीव्रता दिनेछ। हालै मात्र विदेश मन्त्रालयले भिसाको म्याद सकिएर पनि बसेको र अन्य कानुनी उल्लङ्घन गरेको आरोपमा करिब ६,००० विद्यार्थीको भिसा रद्द गरेको थियो, जसले सरकारको कठोरतालाई थप स्पष्ट पारेको छ। यसैबीच, सरकारले व्यावसायिक ट्रक चालकहरूका लागि नयाँ भिसा जारी गर्न तत्काल रोक्ने जस्ता अन्य क्षेत्रमा पनि भिसामा कडाइ गर्ने संकेत दिएको छ।