हाम्रो पेज
विराटनगर, अषाढ २० । धनुषाको विदेह नगरपालिकास्थित नेपाल भारत सीमा क्षेत्र तनावग्रस्त बनेको छ। अवैध सामान तस्करीमा संलग्न एक समूहले विहीबार बेलुका गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीमाथि सांघातिक आक्रमण गर्दा ६ जना सुरक्षाकर्मी घाइते भएका छन्। स्थितिलाई नियन्त्रणमा लिन शसस्त्र प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो। अवैध सामानको खानतलासी गर्ने क्रममा तस्कर र प्रहरीबीच झडप भएको थियो । करिब १५० जनाको समूहद्वारा घरेलु हतियार र ढुंगामुढा प्रहार गरेका थिए । त्यसपछि शसस्त्र प्रहरीले १३ राउन्ड अश्रुग्यास र ४ राउन्ड हवाई फायर गरेको थियो । सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार, मोटरसाइकलमा अवैध सामान लुकाइछिपाइ भारतबाट नेपालतर्फ ल्याइँदैछ भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट संयुक्त टोली खटिएको थियो। टोलीले खानतलासीका क्रममा एउटा मोटरसाइकल फेला पारेपछि नजिकै रहेको एक टहरामा समेत खोजतलास गर्न थाल्यो। यही क्रममा एक्कासि सयदेखि डेढ सय जनाको संख्यामा रहेका स्थानीय र तस्करहरूको समूह घरेलु हतियार भाला, लाठी, खुकुरीसहित प्रहरीमाथि जाइलागेको थियो। डीएसपी थापाले भन्नुभयो, “सूचनाका आधारमा सामान्य खानतलासी गर्न खोज्दा संगठित रूपमा रहेको समूहले हाम्रो टोलीमाथि ढुंगामुढा र हतियारसहित आक्रमण गर्यो। यो एक नियोजित आक्रमण थियो।” आक्रमणकारीको समूह अनियन्त्रित भएपछि आत्मरक्षा र स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी टोलीले १३ राउन्ड अश्रुग्यास टियर ग्यास र ४ राउन्ड हवाई फायर गरेको थियो। झडपका क्रममा घाइते भएका ६ जना सशस्त्र प्रहरीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल, जनकपुरमा भर्ना गरिएको छ। अन्य ३ जना सामान्य घाइतेको स्थानीय स्तरमा उपचार भइरहेको छ। घटनापछि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ। धनुषाको यो सीमा क्षेत्र अवैध मदिरा, कपडा र अन्य सामान तस्करीका लागि कुख्यात मानिन्छ।

अर्काेतर्फ पर्साको एक ‘अवैध’ गोदाममा बिहीबार सशस्त्र प्रहरीले छापा मारेको छ । त्यहाँबाट लत्ताकपडा बरामद गरिएको छ । वीरगन्ज महानगरपालिका–१ बाट करिब १८ लाख ५५ हजार ३५० रुपैयाँबराबरको लत्ताकपडा र जुत्ताचप्पल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । वीरगन्ज–१, छपकैयास्थित लीलावती देवी, सन्तोष कुमार र भोला साह कानुका गरी तीन घरमा छापा मारेर उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । भन्सार छलेर भारतबाट नेपाल ल्याई अवैध रूपले लत्ताकपडा र जुत्ताचप्पल त्यहाँ भण्डारण गरी राखेको पाइएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद सामान भन्सार कार्यालय वीरगन्ज पर्सामा बुझाइएको छ ।