
विराटनगर ,३२ अषाढ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पार्टी सभापति शेरबहादुर देउवासँगको असन्तोषपछि विराटनगरस्थित कोइराला निवासमा आइपुग्नु भएको छ । बुधबार बिहान कोइराला निवासमा उहाँको उपस्थितिलाई नेपाली कांग्रेसको आन्तरिक राजनीति र नेतृत्वको आगामी संरचनासँग जोडिएर गम्भीर रूपमा हेरिएको छ। भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि लामो समय सार्वजनिक रूपमा सक्रिय नदेखिनु भएका खाँणको यो सक्रियता र उपस्थिति कांग्रेसभित्र गहिरो अर्थ राख्दछ। यद्यपि उहाँले गुट परिवर्तनको स्पष्ट घोषणा गर्नुभएको छैन्, यद्यपिकोइराला निवासमा गरिएको पत्रकार सम्मेलनले डा. शेखर कोइरालाको नेतृत्वमा रहेको धारसँग उहाँको निकटता प्रस्ट पारेको छ। पत्रकारहरूसँग कुराकानी गर्दै नेता खाँणले कोइराला निवासलाई राजनीतिक गुटको थलो नभई नेपाली कांग्रेसको साझा र ‘पवित्र भूमि’का रूपमा व्याख्या गर्नुभयो। उहाँका शब्दमा, यो कोइराला निवास हाम्रो लागि कुनै गुटीय सन्दर्भ होइन, यो एउटा ऐतिहासिक र आदरणीय स्थल हो, जसले नेपाली लोकतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। खाँणले बीपी, गिरिजा, सुशील र मातृका कोइरालालगायत कोइराला परिवारका नेताहरूको योगदानको उच्च सम्मान गर्दै भन्नुभयो, यी महामानवहरूको भावनात्मक सम्बन्ध नेपाली जनतासँग गहिरो छ, र उनीहरू सधैं प्रेरणाका स्रोत रहनेछन्। पार्टी नेतृत्वबारे उहाँ स्पष्ट हुनुहुन्थ्यो, पार्टीको नेतृत्व गुटभन्दा माथि उठेर हुनु जरुरी छ। सबै नेता र कार्यकर्ताहरूले सभापतिको सफलताका लागि योगदान दिनुपर्छ, किनभने सभापति सफल भए मात्र पार्टी सफल हुन्छ।
आगामी १५औं महाधिवेशनबारे उहाँले पार्टी विधान अनुसार पाँच वर्षभित्र सम्पन्न गर्न सकिने बताउनुभयो। १४औं महाधिवेशन पनि एक वर्ष थपेर गरिएको स्मरण गराउँदै उहाँले १५औं महाधिवेशन समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । महाधिवेशनमा उम्मेदवारीबारे सोधिएको प्रश्नमा उहाँले अहिले आफू केन्द्रीय समितिमा क्रियाशील रहेको र महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको बताउनुभयो । सरकारको कामकारबाहीबारे उहाँले गठबन्धन सरकारको आवश्यकता औंल्याउँदै “पढ्दै कमाउँदै कार्यक्रम” र “हरित हाइड्रोजन उत्पादन योजना”जस्ता योजनाहरूको सकारात्मक मूल्यांकन गर्नुभयो। उहाँले विगतमा पनि कांग्रेस–एमालेबीच सहकार्य भएको उल्लेख गर्दै यो गठबन्धन आगामी २०८४ को निर्वाचनसम्म कायम राखिने विश्वास व्यक्त गर्नुभयो । अनुशासन समितिको कारबाहीबारे उहाँले प्रक्रियागत निर्णय भएको भन्दै आवश्यक परे केन्द्रीय समितिबाट पुनरावलोकन गरिने जानकारी दिनुभयो ।