
विराटनगर, अषाढ १९। स्वास्थ्य बीमा बोर्डले बीमितहरूका लागि ठूलो राहतको घोषणा गरेको छ। आउँदो साउन १ गतेदेखि लागू हुने गरी बीमितले देशको जुनसुकै स्थानमा रहेका ‘प्रथम सेवा विन्दु’ बाट स्वास्थ्य सेवा लिन पाउने भएका छन्। यसअघि बीमितले बीमा दर्ता गर्दा तोकेको एउटा मात्र प्रथम सेवा विन्दु स्वास्थ्य संस्थाबाट सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था थियो। यो व्यवस्थाका कारण बसोबास वा कामको सिलसिलामा आफ्नो तोकिएको ठाउँभन्दा बाहिर रहेका बीमितहरूलाई स्वास्थ्य सेवा लिन कठिनाइ हुँदै आएको थियो। बोर्डले बिहीबार एक सूचना जारी गर्दै स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ मा भएको संशोधनअनुसार यो नयाँ व्यवस्था लागू गरिएको जनाएको छ। विगतमा बीमितले तोकिएको एक मात्र प्रथम सेवा विन्दुबाट सेवा लिनुपर्ने अवस्थाले बीमितहरूलाई समस्या भएको र निरन्तर गुनासो आइरहेको थियो, बोर्डद्वारा जारी सूचनामा भनिएको छ, बीमितहरूलाई सहज र सरल रूपमा बीमा सुविधा पुर्याउन आगामी आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै मिति २०८२ साउन १ गतेदेखि यो नयाँ व्यवस्था लागू गरिएको हो। नयाँ व्यवस्थाअनुसार, स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रूपमा काम गर्न अनुमति प्राप्त गरेका जुनसुकै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। यसले गर्दा अब यात्रामा रहेका, अस्थायी बसोबास गरिरहेका वा आफ्नो दर्ता गरिएको स्वास्थ्य संस्थाभन्दा टाढा रहेका बीमितहरूले नजिकैको कुनै पनि सूचीकृत स्वास्थ्य संस्थाबाट सजिलै सेवा लिन सक्नेछन्।

यो निर्णयले स्वास्थ्य बीमाको पहुँचलाई थप फराकिलो र प्रभावकारी बनाउने विश्वास गरिएको छ। बोर्डले यससम्बन्धी व्यवस्था मिलाइएको व्यहोरा सबै सरोकारवालालाई जानकारी गराएको छ।