हाम्रो पेज
विराटनगर, ६ अषाढ I कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी प्रदेशस्तरीय ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ ।
आज विराटनगरस्थित महेन्द्र चोकबाट प्रभात फेरी सुरु भई विराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजनाकाबीच ट्राफिक सप्ताहको शुभारम्भ गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा विश्वास व्यक्त गर्नुका साथै विद्यालय स्तरमा नै ट्राफिक सचेतना प्रदान गर्न सकिएमा दीर्घकालिन रुपमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने वताउनु भयो । साथै उहाँले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणमा उल्लेख्य योगदान पुर्याउनु हुने महानुभावहरुलाई योगदानको उच्च कदर गर्दै प्रसंसा पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । उहाँले सचेतना मुलक श्रव्यदृश्य सामग्री “सुरक्षित यात्रा” को औपचारिकरुपमा अनावरण गर्नुका साथै सार्वजानिक यात्रु वाहक बसमा यात्रुहरुको गुनासो तथा सुझावको लागी क्युआर कोडको स्टिकर समेत टाँस गर्नुभएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक प्रहरीलाई आवश्यक श्रोत साधन उपलव्ध गराउन कोशी प्रदेश सरकार तत्पर रहेको बताउदै सवारी दुर्घटना न्यूनिकरणमा प्रदेश स्तरिय ट्राफिक सप्ताहले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।
कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द्र अधिकारीले ट्राफिक सप्ताहको सफलताको शुभकामना सहित धन्यवाद व्यक्त गर्नुभयो I कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक संतोष श्रेष्ठलगायतले बोल्स्वानुभएको थियो I
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि आजैदेखि एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ भने एक साता सम्म जिल्लाहरुमा बिभिन्न ट्राफिक सचेतनामुलक कार्यक्रमहरु संचालन गरी ट्राफिक सप्ताह सम्पन्न हुनेछ ।