search logo
NOTIFICATIONS

जुवा खालमा प्रहरीको छापा, पक्राउ परेका एकजनाको मृत्यु, एकको खुट्टा भाँचियो

हाम्रो पेज

१३ आश्विन २०८३, मंगलवार १९:२५

विराटनगर,१३ आश्विन । विराटनगरमा तास खेलिरहेको आरोपमा पक्राउ परेका एक व्यक्तिको प्रहरी हिरासतमै मृत्यु भएको छ। प्रहरी पुग्दा भाग्ने क्रममा अर्का एक व्यक्ति घरको दुई तलाबाट हामफालेर घाइते भएका छन्। मोरङ प्रहरीले विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइराला पनि रहनु भएको थियो । प्रहरीका अनुसार प्रहरी टोली पुगेपछि भएको भागदौडमा कोइराला घाइते भएका थिए। प्रारम्भिक स्वास्थ्य परीक्षणमा अवस्था सामान्य देखिएपछि उनलाई अन्य पक्राउ परेकासँगै हिरासतमा राखिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार सोमबार राति तास खेलिरहेको स्थानबाट ८ जना पक्राउ परेका थिए । प्रहरीको गस्ती टोली पुगेपछि तास खेलिरहेका व्यक्तिहरूको भागाभाग हुँदा कोइराला सामान्य घाइते हुनु भएको थियो ।

मंगलबार बिहान करिब साढे ७ बजे कोइराला अचानक अचेत भएपछि प्रहरीले कोशी अस्पताल पुर्‍याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि नोबेल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले बिहान करिब ११ बजे मृत घोषणा गरेका थिए। मृतकको यसअघि टाउकाको शल्यक्रिया भएको खुले पनि मृत्युको वास्तविक कारण अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यस्तै, भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया दुई तलामाथिबाट हामफाल्दा दाहिने खुट्टा भाँचिएको छ। उनी एम्बुलेन्स चालक रहेको प्रहरीले जनाएको छ। खुट्टा भाँच्चिएका घाइतेको भने श्री अस्पतालमा उपचार भइरहेको छ । पासवानको घरबाट प्रहरीले मृतक कोइराला र घाइते मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको थियो । प्रहरीले घटनास्थलबाट ४८ हजार ३ सय ९५ रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ।