सरकार ढाल्ने खेलमा छैन, तर कार्यशैलीप्रति गम्भीर असन्तुष्टि छः डा. शेखर कोइराला

हाम्रो पेज

१४ श्रावण २०८२, बुधबार १६:२३

विराटनगर १४ श्रनवण । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू वर्तमान सरकार परिवर्तन गर्ने खेलमा नलागेको स्पष्ट पार्नुभएको छ। बुधबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले विभिन्न राजनीतिक दलका नेताहरूसँगको आफ्नो भेटघाटलाई मुलुकका समस्या समाधानको संवादका रूपमा अर्थ्याउनुभयो, तर सत्ता समीकरण फेरबदलको प्रयासका रूपमा नबुझ्न आग्रह गर्नुभयो। नेता कोइरालाले वर्तमान सरकार जनअपेक्षाअनुसार चल्न नसकेको टिप्पणी गर्दै पनि तत्काल अर्को सरकार बन्ने सम्भावना नरहेको बताउनुभयो। “हामी चाहन्छौं यो सरकार २०८४ सम्म जाओस्, तर सरकार राम्रोसँग चलोस्,” उहाँले भन्नुभयो, “तर यो राम्रोसँग चल्न सकेको छैन।” उहाँले पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न आवश्यक संख्या आफूहरूसँग नभएको यथार्थलाई स्वीकार्दै वर्तमान गठबन्धनले नै २०८४ को निर्वाचन गराउने दाबी गर्नुभयो। पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत अन्य दलका नेताहरूसँगको भेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै डा. कोइरालाले यसलाई स्वाभाविक राजनीतिक प्रक्रियाको संज्ञा दिनुभयो। “हामी राजनीति गर्दैछौं, हामीले विभिन्न भेट गरिरहनुपर्छ,” उहाँले प्रतिप्रश्न गर्नुभयो, “नेपाली कांग्रेस र माओवादी सरकारमा हुँदा मैले ओलीजीलाई भेटिरहेको थिएँ, त्यतिबेला कहिल्यै प्रश्न गर्नुभएन ? त्यो पनि छलफल नै थियो। त्यस्तै छलफल अहिले पनि भएको हो। लुकेर कसैले भेट गर्छन् होला, तर म त्यसमा विश्वास गर्दिनँ।” उहाँले पूर्वराष्ट्रपति भण्डारीसँग राष्ट्रपति हुँदा र पदबाट हटेपछि पनि निवासमै गएर भेटेको स्मरण गराउँदै अहिलेको भेट पनि सामान्य नै भएको स्पष्ट पार्नुभयो।डा. कोइरालाले विभिन्न नीतिगत विषयमा आफ्नो धारणा राख्नुभयो । “संविधानले यस विषयमा रोकेको छैन, तर मलाई सोध्नुहुन्छ भने पूर्वराष्ट्रपति, उपराष्ट्रपतिहरू राजनीतिमा नफर्केकै राम्रो,” उहाँले भन्नुभयो, “यसका लागि संविधान संशोधन आवश्यक छ।” यस्तै राष्ट्रपतिले विधेयक फिर्ता पठाएको विषयलाई उहाँले लोकतन्त्रका लागि खतरनाक संकेतको रूपमा व्याख्या गर्नुभयो। “संवैधानिक परिषद्मा ६ जना वरिष्ठ व्यक्ति सदस्य रहने व्यवस्थालाई परिवर्तन गरी ३ जनाले बहुमत मान्ने प्रस्ताव लोकतन्त्रका लागि अत्यन्तै खतरनाक छ,” उहाँले भन्नुभयो। भूमिसम्बन्धी विधेयकलाई हतारमा पास नगरी संसदीय समितिमा लगेर दफावार छलफल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। साथै, निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ अनिवार्य राख्नुपर्ने बताउँदै यसमा शीर्ष नेताहरूले चलखेल गरिरहेको आरोप लगाउनुभयो। सुशासनको विषयमा आफूले जति अरू कसैले नबोलेको दाबी गर्दै डा. कोइरालाले राजनीतिमा नैतिकता हुनुपर्नेमा जोड दिनुभयो। “जुन कारणले सरकार बदल्यौं, त्यो कारण जनतालाई पुष्टि गर्न सक्नुपर्छ। अनि मात्रै हामी सफल हुन्छौं। अहिलेसम्म त्यो पुष्टि गर्न सकेका छैनौं,” उहाँले भन्नुभयो।